अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएकामध्ये अर्का दुई जनाको शव फेला

जनपत्र
१४ बैशाख २०७७, आईतवार १५:५९

कास्की – अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका मध्ये दुई जनाको शव फेला परेको छ ।

गएको माघ ३ गते अन्नपूर्ण पदमार्ग, हिंकु खोंचको हिमपहिरोमा परेर ४ जना कोरियन र ३ जना नेपाली हराएका थिए । तीमध्ये दुई जनाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राज कुमार केसीले जानकारी दिनुभयो ।

भेटिएका दुबै जना बिदेशी रहेको केसीले बताउनुभयो । हराएकामध्ये २ जना नेपाली गाइडको शव यसअघि नै फेला परिसकेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु खोंच र देउरालीको बीचमा मोदी नदी किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो । शव हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी साथ हेलिकप्टर त्यसतर्फ गइसकेको उहाँको भनाइ छ ।

दुई नेपालीमध्ये एक जनाको शव चैतमै फेला परेको थियो भने अर्का एक जनाको ४ दिनअघि फेला परेको थियो । अहिले हिउँ पग्लिएका कारण शव खोज्न थालिएको हो । पहिरोमा परेर हराएका मध्ये ३ जना अझै बेपत्ता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*