चिनियाँ पर्यटक नेपालमा अलपत्र, देश फर्कने वातावरण मिलाइदिन आग्रह

जनपत्र
१४ बैशाख २०७७, आईतवार १४:२२

काठमाण्डौ – चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

चिनियाँ पर्यटकहरु आफूहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने भन्दै काठमाण्डौको भृकुटीमण्डपमा रहेको पर्यटन बोर्ड पुगेका हुन् । २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरुले ‘हामी घर जान चाहन्छौँ’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् ।

उनीहरुले चीन जानका लागि कुनै पनि उडान नभएको र आफूहरुलाई नेपाल छाड्न कुनै पनि विकल्प नभएकोले अलपत्र परेको बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् ।

कोभिड-१९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ सरकारले नेपालमा कुनै पनि चार्टर उडान अनुमति दिन नचाहेकाले पहल गरिदिन आग्रह गर्न उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेका हुन् ।

यस्तै चिनियाँ दूतावासले पनि घर फिर्ताका लागि कुनै पनि व्यवस्था नगरी होटलमा नै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनीहरुले नेपालका विभिन्न ठाउँमा ४ सयभन्दा बढीको संख्यामा रहेका चिनियाँ पर्यटकहरु अलपत्र परेको बताएका छन् । त्यसमध्ये केही गर्भवती महिलासमेत रहेको उनीहरुले बताए । यस्तै केही विद्यार्थीहरु रहेको र उनीहरुको कलेज छुटेको समेत उनीहरुले बताए ।

दुई चिनियाँ एयरलाइन्सहरुले आउटबाउन्ड उडान अनुमति पाए चिनियाँ नागरिकलाई लैजान तयार रहेको बताउँदै ती उडानहरु सञ्चालन हुने व्यवस्था मिलाइदिन  उनीहरुले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*