कतारमा म ठिक छु, तर जोखिममा रहेका नेपालीलाई लिन आउ सरकार

केही समयअघिसम्म लाग्थ्यो, सब ठिक भइहाल्छ नि । हिजोआज हेर्छु, धेरै कुराहरु बेठिक हुँदैछ । कतारमा मात्र होइन, खाडीका अरु देशहरुमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । सडकमा गाडी चल्दैनन् । कम्पनीमा काम बन्द छ ।
नेपाल जाने जहाज हाम्रा लागि आकाशमा उड्दैनन् । न नेपालले नै हामीलाई लिन जहाज पठाउँछ । कल्पना गर्दा पनि अत्यास लाग्छ । म मात्र होइन, अहिले धेरै जना आत्तिनुभएको छ । यो अवस्थामा यहाँ बस्न त पटक्कै मन छैन । तर सधैं मनको कहाँ चल्दो रहेछ र ? यो अवस्था त कसैको पनि नचल्ने आएको छ ।
सोच्दा धेरै गाह्रो छ । नसोच्दा केही पनि छैन भनेझैं पो भएको छ । सबैलाई नहोला, तर यहाँ हुने धेरै नेपालीलाई कोरोना सङ्क्रमण हुन्छ जस्तो लाग्छ बेला बेलामा त।
ल ठिक छ नेपालले एकै पटक सबैलाई लैजान परेन । तर जो जोखिममा छन्, जो बिरामी छन्, जसलाई तत्काल लैजान पर्छ, तिनीहरुलाई छुट्याएर लैजाँदा त हुन्छ नि ।
जस्तै सुगरका रोगी, प्रेसरका रोगी, दैनिक औषधि खानुपर्ने लगायतका जसलाई सङ्क्रमण देखिएको छैन, उनीहरुलाई त लैजाँदा हुन्छ नि ।
उनीहरुलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ । नेपाली दूतावासले पनि यो कुरालाई बुझेर त्यही अनुसार समन्वय गर्दा कति राम्रो हुने थियो । लगेर क्वारेण्टीनमा राखोस् ।
बरु राख्न, खाना खुवाउन सकिंदैन भने न्यूनतम पैसा तोकेर नेपाल सरकारले विदेशबाट गएका कामदारबाट दिनगन्ती रुपमा पैसा लिंंदा पनि हुन्छ ।
नियम नमान्नेलाई कडा कारबाही होस् । यहाँ धेरै नेपालीहरु सङ्क्रमित हुनुभएको छ ।
तर कतार सरकारले भनेको छैन । हाम्रो पालो कहिले हो थाहा छैन । सरकारले बेलैमा कुनै निर्णय नगर्ने हो भने त हामी जति निरीह को होला र ? त्यसैले म भन्छु, म ठिक छु, तर जोखिममा रहेका नेपालीलाई लिन आउ सरकार ।