मकवानपुरमा मानब अधिकारको अवस्था वुझ्न समिति गठन
हेटौंडा । मकवानपुरमा मानब अधिकारको अवस्था अनुगमन गर्नका लागि समिति गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले केन्द्र, प्रदेश र जिल्ला स्तरमा कोरोना भाइरस (कोभिड १९) को सन्धर्वमा मानब अधिकारको अवस्था अनुगमन गर्नका लागि समिति गठन गर्न पत्र पठाए अनुसार जिल्ला स्तरमा नेपाल पत्रकार महासंघ मकवानपुर, गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुर, जिल्ला बार एसोसिएसन मकवानपुर रहनेगरी समिति गठन गरिएको हो ।
समितिका संयोजकमा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डाक्टर कृष्ण प्रसाद धिताल रहनुभएको छ । सदस्यहरुमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, सदस्यमा जिल्ला अदालत बार एसोसिएसन मकवानपुरका उपाध्यक्ष ऋषि केबी रहनुभएको छ । समितिको आजैको वैठकले मानव अधिकार आयोगको निर्देशन अनुसार दुईजना सदस्यलाई थप पनि गरिएको छ । सदस्यहरुमा नेपाल मानब अधिकार संगठन मकवानपुरका कृष्ण प्रसाद दाहाल र हिमराइट्स मकवानपुरका कुमारी वाइवा चयन गरिएको छ ।
अनुगमन समितिले कोभिड–१९ बाट उत्पन्न जटिल परिस्थितिको सेरेफेरोमा मानव अधिकारको सन्दर्भमा नेपाल सरकारबाट भइरहेका जीवनको अधिकार, बिरामीहरुको उपचार, स्वास्थ सामग्रीको उपलब्धता, औषधीहरुको उपलब्धता बारेमा अनुगमन गर्नेछन् । स्वास्थ्यकर्मीको मनोबल, निजी अस्पतालको भूमिका र कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सम्बन्धी क्रियाकलापहरु, विपन्न वर्गको जीवनयापनको समस्या, राहत वितरण र उपभोक्ताको समग्र अधिकार, नागरिकहरुको न्याय प्रशासनमा पहुँच, आवत जावतमा परेको समस्या, सीमामा आइपुगेका नेपालीको समस्या, सञ्चार माध्यमको भूमिका, सामाजिक सञ्जालको प्रयोगरसदुपयोग र दुरुपयोग, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिक सचेतना र नागरिकको कर्तव्य, नागरिक समाज र मानव अधिकारकर्मीको भूमिका, कोभिड–१९ र लकडाउनका कारण प्रभावित अन्य अधिकारहरुको अवस्थाका बारेमा बुझ्ने छन् ।