असिना पानीले बालीनाली नष्ट, हिउँदमा लगाएको खेतीले खर्च नउठ्ने चिन्ता

जनपत्र
९ बैशाख २०७७, मंगलवार १७:०५

बाग्लुङ – बाग्लुङमा सोमबार दिउँसोदेखि परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबाली नष्ट गरेको छ । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत क्षेत्रमा परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन् ।

लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केहीबेर ढपक्कै छोपेको थियो । असिनाले थिचेर खेतबारीमा भित्र्याउने बेलाको गहुँ, भर्खरै उम्रिँदै गरेका मकै, जौ, फापरलगायत अन्नबाली नष्ट गरेको काठेखोला गाउँपालिका २ का किसान विक्रम शर्माले बताउनुभयो ।

बागलुङ नगरपालिका ९ सिगानामा रहेको सुन्तला बगान र जैमिनी नगरका विभिन्न वडामा रहेको सुन्तला बगानमा समेत असिनाले थिचेर क्षति पुगेको जैमिनीका किसान भमि शर्माले बताउनुभयो । काँठखोला गाउँपालिका २ र ३ वडामा सोमबार दिउँसो भिषण रुपमा परेको असिना पानीले माटोसमेत बगाएको थियो । असिना पानीले पाकेको अन्नबाली र तरकारी बाली पूर्णरुपमा नष्ट बनाएको किसान बताउँछन् ।

बागलुङमा अहिले हिउँदे बाली भित्र्याउने र मकै बाली लगाउने समय हो । ‘हिउँदमा लगाएको खेतीले खर्च समेत उठ्न दिएन’, किसान शर्माले भन्नुभयो, ‘कुनै ठाउँमा दुई फिटभन्दा बाक्लो असिना परेको छ, दिउल लागेका मकै समेत थिचेर सक्यो ।’ हिउँभन्दा बाक्लो परेको असिनाका कारण गाउँभरिका किसानको खेती नष्ट हुँदा लाखौँ मूल्य बराबरको घाटा व्यहोर्नु पर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्माले बताउनुभयो ।

‘यता त असिना हिउँभन्दा पनि बाक्लो छ’, उहाँले भन्नुभयो, ‘उम्रिँदै गरेको मकै र पाकेको गहुँ, जौ, फापर केही पनि काम नलाग्ने भएको छ ।’ केही दिनयता हावाहुरीसहित परेको असिना पानी र चट्याङका कारण बाग्लुङ धेरै प्रभावित बनेको छ । पछिल्लो १५ दिनयता चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*