कहिले आउनुहुन्छ आमा ?

जनपत्र
९ बैशाख २०७७, मंगलवार ११:१८

जाजरकोट – घरेलु कपडा सिलाइबुनाइ तालिममा चार महिनाअघि नेपालगञ्ज गएकी जाजरकोटको बारेकोट गाउँपालिका–१ की भद्रकला बोहरा बन्दाबन्दीका कारण उतैको रोकिनुभएको छ ।

घर आउने चाहना भए पनि बारेकोटसम्म हिँडेर आउने अवस्था नभएपछि उहाँ नेपालगञ्जको एक होटेलमा बसेर दैनिक छोराछोरीसँग फोनमा कुरा गर्दै चित्त बुझाइरहनुभएको छ । नेपालगञ्जबाट जाजरकोट सदरमुकाम ३२ कोस टाढा पर्छ ।

बोहरालाई कसैले उद्धार गरेर बारेकोट पुर्याइदिन्छ कि भन्ने आशा भने मरेको छैन । उहाँ भन्नुहुन्छ, ‘माइतीघरमा रहेका आमाबुबाको जिम्मामा १२ वर्षको छोरा र १४ वर्षकी छोरी छोडेर आएकी हुँ । उनीहरुले ‘कहिले आउनुहुन्छ आमा ?’ भनेर फोन गर्छन्, तर म बन्दमा परेको छु भनेर सम्झाउँछु, पत्याउँदैनन् ।’

बारेकोट सिनाकोटमा लकडाउनको खासै प्रभाव नभएका कारण छोराछोरीले यो कुरा सजिलै पत्याउने अवस्था छैन । भद्रकलासँगै बारेकोटका मजदुरी गर्न भारत गएकादेखि काठमाडौँबाट आएर अलपत्र परेका ७६ नेपालगञ्जमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*