कोरोनाको उपचार गराइरहेकी युवती निको भएर घर फर्किइन्

काठमाण्डौ – कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमित दोस्रो व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाण्डौको शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।
गएको चैत १० गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनले उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् ।
काठमाण्डौ घर भएकी उनी गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डौ आएकी थिइन् । गएको चैत ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना सङ्क्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो । यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण उपचारपछि निको हुने भएकाले बेलैमा उपचार गराउन र सतर्क रहन डाक्टरहरुले सुझाव दिँदै आएका छन् । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।