मकवानपुर न्यायधिवक्ताको कार्यालयले रौतहटका मेयरलाई मुद्धा चलाउन मानेनन्

हेटौंडा । रौतहटको ईशनाथ नगरपालिकाका मेयर र उनका भाइलाइ लागू औषध कारोबारको आरोपमा जिल्ला न्यायधिवक्ताको कार्यालय हेटौंडाले प्रमाण नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको छ ।
गाँजा ओसारपसारकै क्रममा पक्राउ परेका तिनजनालाई पुर्पक्षको लागि जेल चलानको आदेश भएको छ । नगरपलिकाको एम्बुलेन्समा गाँजा ल्याउदै गर्दा प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको थियो । यही मुद्दामा मेयर सन्तोष मेहतामाथि अनुसन्धान गर्नु पर्ने भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।
मेयर मेहता र उनका भाइ मोहनविरुद्ध मकवानपुर प्रहरीले लगाएको लागूऔषध ओसारपसारको आरोपमा यथेष्ट प्रमाणको अभावका कारण शुक्रबार मुद्धा नचल्ने निर्णय भएको जिल्ला न्यायधिवक्ता खडिन्द्र कटवालले बताए । ‘मेयर मेहता र उनको भाइको हकमा लागू औषध गाँजा ओसार पसारमा कतै कुनै संलग्नता देखिएन्,’ उनले भने,‘प्रमाण नपुगे पछि मुद्दा नचलाउने निर्णय गरेका हौ ।’
प्रतिवादी विनोद सहनी समेत भएको मुद्दामा मकवानपुर जिल्ला अदालतले मेयर सन्तोष र उनका भाइ मोहनलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएपछि अनुसन्धानका लागी भन्दै एक साताअघि जिल्ला प्रहरी रौतहटको नाममा दुवैलाई कार्यालयमा हाजिर गराउन पत्र पठाएको थियो । गत माघ ११ गते हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ईशनाथ नगरपालिकास्थित डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र ६ वटा पोकामा ३० किलो ६ सय ग्राम गाँजा र ९१ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो ।
एम्बुलेन्स चालक डुमरिया गाउका महम्मद खलिद, एम्बुलेन्समा सवार अशोक कुमार र भारत बिहारको मोतिहारी जिल्ला बसन्तपुरका विनोद सहनीलाई भने अदालतले पुपर्क्षका लागि आदेश गरेको जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरिक्षक अमरप्रताप गजमेरले बताए ।
मेयर मेहताले न्यायको जित भएको बताएका छन् । ‘मलाई फसाउने षड्यन्त्र भएको थियो । म निर्दोष छु,’ उनले भने,‘एम्बुलेन्स चालकले बदमासी गर्र्यो होला त्यसमा मेरो के दोष हुन्छ ।’ इकान्तिपुरबाट साभार ।