नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

चितवनका दुई संक्रमित : चैत ३ मा बेलायतबाट आएका थिए आमाछोरा
जनपत्र
५ बैशाख २०७७, शुक्रबार १९:३८

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रयोगशालाबाट अन्तिम रिपोर्ट पर्खिरहेको बताएका छन् । ‘उनीहरुको संक्रमण भए नभएको पुरै पुष्टि भइसकेको छैन’ मन्त्री कार्कीले भने, ‘संक्रमण पुष्टि भए विराटनगर ल्याएर आइसोलेसनमा राखी उपचार गर्ने तयारी भइरहेको छ ।’

यसअघि वीरगन्जको मस्जिदमा बसेका तीनजना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उक्त मस्जिदमा पनि अनुगमन गर्ने क्रममा १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको थियो। उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका थिए।

स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका थिए।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चितवनका दुई जना आमाछोरा भएको खुलेको छ । उनीहरु राप्ती नगरपालिका–८ का हुन् ।

६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*