हेटौंडामा दोश्रो चरणमा ३ हजार ५ सय परिवारलाई राहत वितरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले दोश्रो चरणमा मात्र ३ हजार ४ सय ९५ परिवारलाई राहत वितरण गरेको छ । लक डाउन भएको २३ औं दिन सम्म उपमहानगरपालिकाले हेटौंडामा रहेका निर्माण क्षेत्रका मजदुर परिवार र दैनिक ज्यालादारी गर्ने परिवारलाई झण्डै ३५ सय परिवारलाई राहत वितरण गरिएको हो । पहिलो चरणमा उपमहानगरपालिकाकाले विभीन्न संघसंस्थाको समन्वयमा ३ हजार एक सय १८ परिवारलाई राहत वितरण गरेको थियो ।
पहिलो चरणमा राहत वितरण गरिसकेपछी दोश्रो चरणमा ११ वटा वडाका दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
हेटौंडा १ मा ४ सय परिवार, हेटौंडा २ मा २ सय ५० परिवार, हेटौंडा ४ मा २ सय परिवार, हेटौंडा ५ मा ४ सय परिवार, ६ मा ३ सय ५० परिवार, ९ मा ३ सय परिवार, १० मा ३ सय परिवार, ११ मा ४ सय परिवार, १६ मा एक सय ८० परिवार, १७ मा २ सय ६५ परिवार, १८ मा ४ सय ५० परिवारलाई राहत वितरण गरिएको मेयर महतले जानकारी दिनुभयो ।
राहत वितरण गरिएका केही वडाको विवरण आउन बाँकी रहेको छ भने केही वडामा वितरण भइरहेको छ । पहिलो चरणमा उपमहानगरपालिकाका वडा कार्यालयले विभीन्न संघसंस्थाको समन्वयमा ३ हजार भन्दा वढी परिवारलाई राहत वितरण गरेका छन् ।