लकडाउनः मकवानपुरका कुखुरा पालक किसानको पिरोलो

बालकृष्ण अधिकारी
२ बैशाख २०७७, मंगलवार ०८:३३

हेटौंडा । राज्यले कोरोना भाईरस नियन्त्रणका लागि लकडाउन गरेसंगै कुखुरापालक किसान पिरोलीएका छन् । उनीहरुका खोरमा रहेका अण्डा र कुखुराले बजार पाएका छैनन् । बेच्ने बेलाका कुखुरालाई दाना खुवाएर पाल्नुपर्दा मकवानपुर र चितवनका कुखुरापालक किसान र ब्यवसायी थप मारमा छन् ।

किसानले बैंकबाट ऋण लिएर कुखुरा पालन ब्यवसाय गरेका मकवानपुरका किसानले अहिले कुखुरालाई आधामात्रै दाना खुवाएर बचाईरहेका छन् । लकडाउनका कारण दाना उद्योगले मुल्य बृद्धी गरेपछि उनीहरुलाई खोरमा रहेका कुखुरा जोगाउनै मुश्कील परिरहेको कुखुरा पालक व्यवासायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारी वताउनुहुन्छ । उद्यारोमा दाना दिँदै आएका उद्योगले संकटका बेला भने किसानलाई नगदमा मात्रै दाना बिक्री गरिरहेको उहाँले वताउनुभयो ।

यतिबेला बेच्न ठिक्क भएका १४ लाख कुखुरा मध्य ६ लाख जीउँदो कुखुरा मकवानपुरका कीसानले प्रतिगोटा एकसय रुपैयाँमा बिक्री गर्न बाध्य भएको हेटौंडा कमानेका कुखुरा पालक किसान प्रतिमा श्रेष्ठ वताउनुहुन्छ । तर त्यही कुखुराको लागत मुल्य भने प्रति गोटा ८ सय रुपैयाँ छ । कुखुरामा मात्रै मकवानपुरमा ५ अरबको लगानी छ । लक डाउनका कारण एक अरब रुपैयाँ नोक्सान भईसकेको कुखुरा ब्यवसायी संघ मकवानपुरले जनाएको छ ।

कुखुराजन्य उत्पादनको ३३ प्रतिशत हिस्सा ओगटेको चितवनमा मात्रै एकसय २० वटा ह्याचरी र २८ वटा दाना उद्योग छन् । पाँचसय वटा ठूला फार्म रहेको चितवनमा उद्योगी व्यवसायीले दैनिक १३ करोड ३४ लाखको नोक्सान ब्योहोरीरहेका छन् ।

किसानले उत्पादन गरेका कुखुरा र अण्डाले बजार नपाउँदा समस्या देखीएको छ । कोरोना भाइरससंग लड्न उपयुक्त हुने स्वस्थ्यकर मासु र अण्डाका सदुपयोग नहुँदा किसान र व्यवसायी दुबै मारमा छन् । राज्यले निम्न वर्गका मानिसहरुलाई राहत उपलब्ध गराउँदा यी उत्पादनलाई समेट्ने हो भने केही मात्रमा नोक्सान कम हुने किसान र ब्यवसायीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*