कोरोना बिरुद्धको अभियानमा लाग्ने स्वास्थ्यकर्मी र सुरक्षा निकायको उच्च मुल्याङ्कन
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले नव वर्ष २०७७ सालको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपाली तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट नेपाल अछुतो नभएकाले यसमा सवैले सजगता अपनाउन आग्रह गर्नुभयो । कोरोनावाट जोगिनको लागि विश्व स्वास्थ्य सङ्गठन, विषय विज्ञहरु, डाक्टरहरु तथा सरकारले आधिकारिक रूपमा जारी गरेका निर्देशनहरु मान्ने तथा ‘लकडाउन’ को पुर्ण रुपमा पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो । अहिलेको अवस्थामा घरैमा परिवारसंग वस्नुनै सवैभन्दा उत्तमा उपाय भएको उहाँले वताउनुभयो ।
नयाँ वर्ष २०७७ सालको प्रारम्भ संगै केहि मुलुकहरुमा कोरोना भाइरस नियन्त्रण तर्फ गईरहेका समाचार आउन थालेकोले नेपाली पनि नआत्तिकन धैर्यताका साथ सावधानी अपनाउन प्रदेश प्रमुख प्रसाईले आग्रह गर्नुभयो । अव यस महामारीको असर न्यून हुँदै जाने र अन्त्यमा नेपाल लगायत समग्र विश्वले छिट्टै मुक्ति पाउने छ भनि मैले आषा र विश्वास उहाँले लिएको वताउनुभयो ।
कोरोना बिरुद्धको महाअभियानमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, तीनै तहका सरकारका अङ्गहरु, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सामाजिक सङ्घ संस्था, उद्योगी व्यवसायी लगायत सबैको प्रयास तथा कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्नुभयो । उहाँले यस अवस्थामा सम्बद्ध सबैको मनोबल बढाउन हार्दिक अनुरोध गर्नुभयो ।
उहाँले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ–‘कोरोनाभाइरसको सङ्क्रमण तर्फ सजग रहि सुरक्षित तवरले नव वर्षको शुभारम्भ मनाउन समेत सबैमा अपिल गर्दछु । नयाँ वर्ष २०७७ सालले विगतमा हासिल गरेका उपलब्धिहरुलाई समयानुकुल सुदृढिकरण गर्दै मुलुकमा सुशासन र समृद्धिको मार्गमा उन्मुख रहि “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्नुको साथै दीगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल वर्ष बन्न सकोस भन्ने कामना गर्दै सबैमा पुन हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’