चितवनबाट हिँडेरै कोहलपुर

जनपत्र
२९ चैत्र २०७६, शनिबार १०:४७

काठमाडौँ — कोही घाम तापेर निदाएका छन् । केटाकेटी चौरमा खेलिरहेका त युवा मोबाइलमा झुम्मिएका, महिला भने कपाल कोर्नमा व्यस्त । चितवनबाट १२ दिनको पैदल यात्रापछि बुधबार बाँकेको कोहलपुर आइपुगेका उनीहरू अहिले सामान्य दैनिकीमा फर्किन खोज्दै छन् । यद्यपि घरसम्म भने पुग्न पाएका छैनन् । ६६ जना भारतीय नागरिकको उक्त टोली अहिले कोहलपुर–१४, हवलदारपुरस्थित राम मावि मैदानको क्वारेन्टाइनमा बसिरहेका छन् ।

देशभर लकडाउनका कारण अत्यावश्यक सवारीसाधन मात्रै गुडेका थिए। पैदल यात्रा लामो र पीडादायी दुवै थियो तर हिम्मत हारेनन्। युवाले केटाकेटीलाई साइकलमा गुडाए। पाका महिला र पुरुषले सामान बोकेरै हिँडे। उनीहरूसित १० वटा साइकल थिए। ‘दिनमा ४० किलोमिटरसम्म साइकल पेल्थ्यौं,’ अनिल पत्थरकट्टाले भने, ‘१२ दिन नरोकिएर नेपालगन्ज आइपुगेका हौं।’ परिवारसहित प्लास्टिकको बाँटा बेच्न चितवन पुगेका उनीहरू दुई दिनमै लकडाउन सुरु भएपछि अलपत्र परे। एकातिर पेट पाल्नको पिर अर्कोतर्फ कोरोना भाइरस संक्रमणको जोखिम, यस्तोमा उनीहरूले घर फर्किनु नै उत्तम ठाने। ‘जति थकाइ लागे पनि हिँड्न छाडेनौं, रोगले उतै मरिने डरले हिँडेका हौं,’ ४० वर्षीया जयमुला पत्थरकट्टाले भनिन्, ‘आफ्नै घर जान चाहन्छौं, मरे पनि त्यहीँ मरौंला भनेर आयौं।’खाना पकाउने भाँडाकुडा र बिस्तरा बोकेर हिँडेका थिए। अलिकति जुटाएको रासन सकिएपछि चाउचाउ र चिउरा खाएर भोक मेटाए। कति दिन भोकभोकै पनि हिँडे।

‘रोग सर्ने डरले होला बाटामा कसैले खाना पनि दिएनन्,’ काखमा पाँच महिनाको छोरो बोकेर आएकी इलाइची पत्थरकट्टाले भनिन्, ‘बाटाभरि फोटो खिच्ने र सोध्ने धेरै आए, खान दिने कोही भएनन्।’ एक दिन खाना खाएर दुई दिन यात्रा गरेको उनले बताइन्। कति गते र कुन बार हिँडेको भेउ नपाएको बताउने उनले कति दिन हिँडियो भन्ने चाहिँ बिर्सिएकी छैनन्। बुधबार साँझ कुसुमसम्म आएका उनीहरूलाई प्रहरीले केरकार गरेर क्वारेन्टाइनमा लगेको हो।पहिलो दिन सबैको शरीरको तापक्रम नापेर क्वारेन्टाइनमा राखिएका उनीहरूको रेखदेखका लागि स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छैन। स्कुलको एउटै कोठामा तीन जनाको परिवार सँगै सुतिरहेका छन्। आएको दिन सेनाले खानाको व्यवस्था गर्‍यो। बिहीबारदेखि भने आफैं खाना पकाएर खान थालेका छन्। ‘मासु अनि पिरो खान नपाएर छटपटाएका छौं,’ विमला पत्थरकट्टाले भनिन्, ‘चामल अनि दाल मात्र दिन्छन्। भोकै मेटिएजस्तो भएन।’ उक्त समूहका १४ महिला, २० पुरुष र ३२ बालबालिका गरी ६६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रहरी निरीक्षक इन्द्र बोगटीले बताए।

‘१२ दिन हिँडेर आए पनि कोही बिरामी जस्ता देखिँदैनन्,’ उनले भने, ‘खाना पकाउँदै खाने मात्र गर्छन्, त्यसैले पनि खाद्यान्न पुर्‍याउन सकेका छैनौं।’ भारतको नानपारा घर भएका उनीहरूलाई भारतीय अधिकारीलाई जानकारी गराएर क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।हप्कीदप्की स् डेरामा स्थानीयको, सडकमा प्रहरीको सरकारले कोरोना भाइरस ९कोभिड–१९० को जोखिम कम गर्न मुलुकभर लकडाउनको निर्णय गरेपछि राजधानी र सहरमा विकास निर्माणका काम रोकिए। त्यसको मारमा अधिकांश ज्यालादारी मजदुरहरू पनि परे। केही दिन काम पाइने आशामा बसेका उनीहरू लकडाउन अवधि थपिँदै गएपछि काठमाडौंमा भोकै बस्नुभन्दा गाउँ फर्किनु उचित ठानेर पैदल गन्तव्यतर्फ लम्किरहेका छन्। यिनैमध्येका एक हुन्, बाँकेको नेपालगन्जका शिवराज थारू।

उनकामा लकडाउनको तीन दिनपछि नै चुलो बल्न छाडेको थियो तर तत्काल घर फर्किन गाडी चलेका थिएनन्। साथीभाइसित सापटी गरेर केही दिन यहीँ अल्झिए। तेस्रोपटक लकडाउनको समय थप भएपछि भने यहाँ बस्ने कुनै उपाय देखेनन्। ‘काठमाडौं बस्नलाई खर्च भएन,’ उनले भने, ‘त्यही पनि भारी बोक्न पाइन्छ कि भनेर टोखाको भित्री गल्लीमा हिँडे। पसल बन्द भएपछि भारी बोक्ने काम पनि नपाइने रहेछ।’ उनीजस्तै बेखर्ची बनेका बाँकेका मजदुरहरू भेला भए। पैदल घर पुग्ने भन्दै ३१ जनाको समूहले गत मंगलबार काठमाडौं छाड्यो। बाँकेको बैजापुर–४ का आशाराम चौधरीले आफ्नो समूह काठमाडौंको स्वयम्भू क्षेत्रमा भाडामा बस्ने गरेको सुनाए।

उनीहरू दुई सातासम्म त अप्ठ्यारो सहेरै बसिरहेका थिए ‘तर स्थानीयले कोरोना सर्ने भन्दै घर जान दबाब दिए, अभावका बेला पनि हेला गरे। त्यसैले फर्किने सल्लाह गरेर हिँडेका हौं,’ उनले दुखेसो पोखे। मंगलबार थानकोटमा चिउरा र दालमोठ खाएर पैदलै नौबिसेसम्म आए।नौबिसेबाट केही दूरी ट्रकमा र बाँकी पैदल यात्रा गरेरै नारायणगढसम्म पुगे। बिहीबार पूर्वी नवलपरासीको कावासोतीसम्म पुग्दासम्म पनि उनीहरूले कुनै सवारीसाधनको सहयोग पाएनन्। ‘भोकै मर्नुभन्दा गाउँ पुगेपछि पैंचो मागेर भए पनि खाइन्छ,’ उनले भने, ‘बिरानो ठाउँमा सघाउने कोही भएन। पानी पिएर भए पनि घर पुगौंला भनेर हिँडियो।’ समूहमा हिँडेको भन्दै बाटामा प्रहरीको हप्की पनि सहनुपर्‍यो। दुई सय किलोमिटर यात्रा गरेकाले उनीहरूका खुट्टा सुन्निएका थिए। शरीर थकित देखिन्थ्यो। बाटामा खाना खाने होटल बन्द थिए। चिया पिउनसमेत पाएनन्। साथमा रहेको १०र२० रुपैयाँ जम्मा गरेर चाउचाउ र चिउराको भरमा यात्रा गरेको उनीहरूले बताए। रात परेपछि सडक किनारमा सुस्ताउँदै र हिँड्दै उनीहरू यहाँसम्म आइपुगेका हुन्। इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*