भीमफेदीका लकडाउन प्रभावितले साढे चार लाखको राहत पाउँदै

हेटौंडा । मकवानपुरको मिफेदी गाउँपालिकाले आफ्ना दैनिक ज्यालादारी गर्ने, लकडाउनका कारण रोजारी गुमेर हातमुख जोर्न समस्या परेका र लकडाउन प्रभावित अती जोखिममा परेका परिवारलाई राहत वतरण गर्न लागेको छ । गाउँपालिकाले ४ लाख ४६ हजार रुपैयाँको राहत वितरण गर्न लागेको हो । राहत वितरण गर्नेहरुको नामावली पहिलेनै सार्वजनिक गरिएको अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
यो राहत वितरण भने पहिलो चरणमा वितरण गर्न लागिएको हो । मकवानपुरका अरु स्थानीय तहले राहत वितरण गर्नेको नामावली सार्वजनिक गरेका छैनन् । तर, भिमफेदी गाउँपालिकाले पहिले नामावली सार्वजनिक गरेर राहत वितरणमा जुटेको हो ।
संघीय सरकारले लकडाउन गरेको समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्बाह गर्ने २ सय १० घरपरिवारलाई भीमफेदी गाउँपालिकाले राहत वितरण गर्ने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफुहरुले राहत लिनेको नामावलीसमेत सार्वजनिक गरेको बताउनुभयो । राहत आवश्यक रहेको परिवारलाई मात्र वितरण गरिएको र पारदर्शी बनाउन उहाँहरुको नामावली सार्वजनिक गरिएको अध्यक्ष लामाको भनाई छ ।
गाउँपालिकाले प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो चिनी, नुन, तेल र साबुन लगायतका सामग्री वितरण गर्ने जनाएको छ ।