मकवानपुरका किसान द्वारा १४ लाख कुखुरा मारिदिन ज्ञापन

जनपत्र
२६ चैत्र २०७६, बुधबार १८:४४

मकवानपुर — लकडाउनका कारण मारमा परेको भन्दै मकवानपुरका किसानले आफ्नो खोरमा रहेका सबै कुखुरा नष्ट गरिदिन प्रशासनसमक्ष आग्रह गरेका छन् । कुखुरा व्यवसायी संघले बुधबार जिल्लाभर रहेका १४ लाख कुखुरा सरकारी अभिलेख राखेर मारिदिन प्रजिअ दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको हो । ‘जिल्लामा १ हजार ५ सय कुखुरापालक किसान छन् । उनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पाँच अर्बभन्दा बढी लगानी डुब्ने अवस्थामा छ’, संघका जिल्ला अध्यक्ष राजु अधिकारी भने । उनले उद्योगहरूले विभिन्न बहानामा दानाको भाउ बढाएर दुःख दिएको आरोप लगाए ।

‘बिस्तारै दाना आउने क्रमसमेत रोकिएको छ । कुखुराको लागतभन्दा कममा बेच्दा समेत बिक्री हुने अवस्था छैन । कुखुरा र अण्डाको मूल्य अत्यधिक घटेको छ । लकडाउनको समय लम्बिए खोरमै कुखुरा मर्ने अवस्था सिर्जना हुन्छ’, अधिकारीले भने ।उनले सरकारी तबरबाट कुखुराको तथ्यांक राखेर नष्ट गरिदिन, किसानका लागि राहत प्याकेज उपलब्ध गराउन, बैंकको ब्याज मिनाहका लागि माथिल्लो निकायको ध्यानकर्षण गराइदिन प्रजिअ नेपाललाई आग्रह गरे । नेपालले दानालाई सरकारले अत्यावश्यक सामग्रीको सूचीमा राखेको भन्दै आफू सहजीकरण गर्न तयार रहेको प्रतिक्रिया दिए । सुवास विडारीले इकान्तिपुरका लागि लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*