मकवानपुरका तीन वटा स्थानीय तहमा घरघरै पुगेर ज्वरो जाँच

हेटौँडा । मकवानपुरको थाहा नगरपालिका, भिमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाका स्वास्थ्यकर्मी विदेशबाट फर्किएका नागरिकको घरघरमै पुगेर ज्वरो जाँच गरेका छन् । ज्वरो, रुघाखोकीका विरामी आउने वित्तिकै हेटौंडाका निजी अस्पतालका स्वास्थ्यकर्मी डराइरहेको समयमा तीन वटा स्थानीय तहका स्वास्थ्यकर्मी गाउँ गाउँमा पुगेर विरामी जाँच गरेका हुन् ।
बृद्ध, असक्तसंगै विदेशबाट आएकाहरुको ज्वरो जाँच घरघरमै गएर गरिएको हो । आवासीय सुविधा दिएर २४ घण्टा स्वास्थ्यकर्मी परिचालित गरेको मनहरी गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको घरघरै पुगेर ज्वरो जाँच गर्ने कार्य सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नका लागि गाउँपालिकाले ९ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको नामावली संकलन गरी सम्बन्धित स्वास्थ्य संस्थामा ज्वरो जाँचका लागि यसअघि अनुरोध गरेको थियो । तर, लक डाउनका कारण सबारी सुविधा नभएपछि घरघरै पुगेर ज्वरो जाँच तथा परामर्श दिन थालिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरसहितको स्वास्थ्य जाँच टोली विभिन्न वडाहरुमा पुगिरहेका छन् ।
वडामा पुगेको स्वास्थ्य जाँच टोलीले विदेशबाट फर्केकाहरुलाई होम क्वारेन्टाइनमा बस्न र आवश्यक परामर्श दिइरहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिकामा १५० भन्दा बढी व्यक्तिहरु पछिल्ला एक महिनायता विदेशबाट फर्केको पाइएको बताइएको छ ।
थाहा नगरपालिकाले पनि आफ्ना वडा वडामा रहेका स्वास्थ्यकर्मीलाई विरामी जचाउनका लागि गाउँगाउँमा परिचालन गरिएको मेयर लवशेर विष्टले वताउनुभयो । गाउँमा पुगेका स्वास्थ्यकर्मीले विदेशबाट आएकालाई ज्वरो जाँच गर्ने काम संगै ६० वर्ष माथीका बृद्धबृद्धाहरुको पनि स्वास्थ्यजाँच गरिएको मेयर विष्ठले वताउनुभयो । यसैगरी भिमफेदी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु पनि कोरोनाको संक्रमण गाउँमा नफैलियोस भनेर गाउँगाउँमा गएका छन् ।
मनहरीमा विदेशबाट फर्किएका व्यक्तिको घरमा रातो चिन्ह लगाउने कार्य पनि गरिएको छ । गाउँपालिकाले भीडभाड हुने ९ वटै वडाका चोक चौतारा तथा सडक आसपासका क्षेत्रमा किटनाशक स्प्रे समेत गरेको छ । गाउँपालिकाले कोरोना संक्रमणविरुद्ध परिचालनका लागि २५ देखि ५० प्रतिशत अतिरिक्त भत्ता तथा आवासीय सुविधा दिएर १५ जना स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरेको छ ।