अस्पतालबाट विरामी फिर्ता गरिए कार्बाही –मुख्यमन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पतालबाट कुनैपन िखालका विरामी फिर्ता गरिए कार्बाही गते चेतावनी दिनुभएको छ । आज सामाजिक सञ्जाल फेसवुक पेज मार्फत निजी अस्पतालप्रति लक्षित गर्दै उहाँले प्रदेश मातहतका अस्पतालबाट कुनैपनि प्रकारका विरामी फिर्ता गरिए कार्बाही गर्ने चेतावनी दिनुभएको छ ।
निजी अस्पतालले खाली नाफा र घाटाका दृष्टिले हेर्ने व्यपारिक चेत परिवर्तन गरी अस्पताल विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु उहाँले सुझाव दिनुभयो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–‘ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१ औं शतव्धीको मानव समाजलाई नै गिज्याउनेगरी भएका घ्रिणित क्रियाकलाप प्रति दुःख व्यक्त गर्दै त्यस्ता क्रियाकलापहरुलाई तत्काल सच्याउन अनुरोध गर्दछु । साथै आफ्ना सेवाहरुलाई विगतमा जस्तै निरन्तरता दिन समेत आग्रह गर्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्रका अस्पतालहरुको छानविन गर्ने र दोषि देखिए कार्वाही गरिने समेत जानकारी गराउदछु ।’
देशमा कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा नेपाली स्वास्थ्यकर्मीहरुले निर्वाह गर्नुभएको भूमिका अन्त्यन्तै प्रशंसनीय र उदाहरणीय रहेको उहाँले वताउनुभएको छ । जोखिमका बावजुत पनि संक्रमण रोकथामका लागि योजना निर्माण र त्यसको कार्यान्वयनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु प्रति हार्दिक आभार सहित धन्यवाद दिनुभएको छ ।
यस्तो परिस्थितिमा पनि केही निजी स्वास्थ्य संस्थाहरुले मानवीय मूल्य र मान्यता विपरित विशेष प्रकृतिका बिरामीहरु बाहेकको अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना नै नलिई फर्काइएको र उनीहरुले उपचार नै नपाई तड्पिनु परेको भन्ने हृदयविदारक खबरले अत्यन्तै आफुलाई दुखी तुल्याएको वताउनुभएको छ । यस विषम परिस्थितिको सामना गर्न हामी सबैको साथ, सहयोग र ऐक्यवद्धता आवश्यक रहेको उहाँले वताउनुभएको छ ।