हेटौंडामा कोरोना स्वाब परीक्षण, ल्याब तमतयार

जनपत्र
२० चैत्र २०७६, बिहीबार १४:४४

मकवानपुर — हेटौंडामा कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण परीक्षणका लागि ल्याब तमतयार राखिएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा बिहीबारबाट कोरोना परीक्षण गर्न लागिएको हो ।

वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीका अनुसार अहिलेसम्म अस्पताल, क्वारेन्टाइन तथा आइसोलेसनबाट नमुना स्वाब आइसकेका छैनन्। ‘हामीले आन्तरिक रूपमा सम्पूर्ण तयारी गरिसकेका छौं, स्वाबहरू प्राप्त भएपछि क्रमशः नतिजा आउन थाल्नेछ’, उनले भने।

संघीय सरकारले किट, औषधि र पीपीई उपलब्ध गराएको तीन दिनपछि परीक्षण सुरु भएको हो। ‘हामीसँग भाइरस, ब्याक्टेरिया, प्यारासाइटको प्रजाति अध्ययन गर्ने र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्ने पीसीआर मेसिन पाँच वर्षअघि नै थियो। तर, परीक्षण किट र आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको थियो,’ सुवेदीले भने।

उक्त ल्याब सञ्चालन गर्न संघीय स्वास्थ्य मन्त्रालयको टोली हेटौंडा आएर अध्ययन गरेको थियो। ल्याबमा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न सकिन्छ। परीक्षण थालिएको साढे दुई घण्टाजतिमा नतिजा प्राप्त हुन्छ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ। मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल छ।

यसअघि विज्ञको अभावमा उक्त ल्याब प्रयोगमा आउन सकेको थिएन। २०७१ सालमा दाताको सहयोगमा स्थापित ल्याबमा अहिले टेक्निसियन निरीक्षक र असिस्टेन्ट गरी दुई जना मात्र प्राविधिक कर्मचारी छन्। ‘यो ल्याब नियमित सञ्चालन गर्ने हो भने हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइटको अध्ययन गरी उपचार सहज बनाउन सकिनेछ’, सामाजिक मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा। पुरुषोत्तम सेढाईंले भने।

२०३५ सालमा स्थापित उक्त केन्द्रमा २१ जनाको दरबन्दी रहेकोमा प्राविधिकसहित १६ जना कार्यरत छन्। कार्यालयप्रमुख डा। यदुचन्द्र घिमिरे दुई साताअघि सरुवा भएपछि केन्द्र प्रमुखविहीन बनेको छ। इकान्तिपुरबाट यो समाचार साभार गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*