मकवानपुरमा सहकारी मार्फत विगत देखि भएका परिवर्तन

६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना छ । सहकारी अभियानले ल्याएको व्याक्तिगत,परिवारीक र सामाजिक परिवर्तनका पाईलाहरुले मानिसको व्याक्तिगत क्षमता विकास बढ्नुको साथै कयौंका जिवनले कोल्टो फेरेको छ । परिवारलाई उद्यमशिल र व्यावसायिक बनाउनको साथै घरेलुहिंसा महिला हिंसा न्युनिकरण भएका छन । बालबच्चाले स्वास्थ र शिक्षाको राम्रो अवसर पाउनुका साथै पारिवारीक जिवन शैलिमा नै परिवर्तन आएको छ । समाजमा एकता, सहकार्य, सदभाव ,पारस्परिक सहयोग र सामाजिक विकासमा ऐक्यवद्वता बढ्नुको साथै सामाजिकरुपान्तरणमा ठुलो टेवा पुगेको छ ।
गाउँ, समाज संगै मेरो जिवनमा पनि सहकारी मार्फत भएका सिकाई र केही परिवर्तनका पाईलाहरु आज सहकारी दिवसको अवसरमा कलम चलाउन मन लाग्यो । हामी भर्खर समूह हुँदै सहकारी अभियानमा लागेका थियौ । माशिक २ रुपयाँ शुरु गरेर बल्ल बल्ल माशिक ५ राख्न थालेका थियौ त्यहि पनि धेरै जसोले श्रीमान संगै हात थाप्नु पर्थ्यो । कयौका श्रीमानले वचन नलाई दिदैनथे आमाको दूध चुसेर पुगेन बाउको घुडो, तैले ५ रूपैयाँ जम्मा गरेर सुनको धुरी हाल्छेस ।
कुन टाउकेले कुम्ल्याएर जान्छ पर्दैन बचत सचत भनेर उफ्रिन्थे । दिदी बहिनीले बचतै गर्नकालागी सजिलो होस भनेर प्लान नेपालले करेसाबारीका लागि विउविजन र नगदे बालि केराउ, अदुवा, फलफु आदि रोप्न सिकायो । त्यसपछि महिलालाई बचत गर्न करेसाबारीबाट पुर्याउन थाले भने नगदेबालीले पुरुषहरुमा पनि समूह र सहकारी प्रति केही आकर्षण,विश्वास बढ्दै गयो । समूह सहकारीको नतृत्वमा भएपछि महिलाहरु पनि हरेक तालिम, गोष्टिभेलामा सहभागी हुनै पर्थ्यो । सजिलो थिएन त्यतीखेर हामीलाई स्वतन्त्र भएर हिड्न । कुनै घरपरिवारलाई पनि मन पर्दैनथ्यो, विश्वास हुदैनथ्यो महिला शहरका ठुला होटल र लजमा बसेर तालिममा सहभागी हुनेकुरा ।
विश्वास होसपनि कसरी गाउँमा पुरुषहरुलाई नै त्यो अवसर थिएन ।आफुले नदेखेको र नभोेगेको कुरा विश्वास लागोस पनि कसरी ।
यस्तै अन्धविश्वाकै भुमरीमा हाम्रो यात्रा चल्दै थियो एकदिन मिटिङमा मलाई प्लानका सरहरुले भन्नू भयो तपाईंको नाम थाईल्यण्डमा हुने सहकारी तालिममा पठाउदै छौं । घरसल्लाह गर्नोस पासपोर्ट बनाउँन पर्छ । मेरो सात्तो उड्यो अहँ म त जान्न । बालच्चा सानै छन । घरमा अरु महिला हुनुहुन्न मलाई गाह्रो छ । त्यसमा पनि विदेशको तालिम अंग्रेजी बोल्नै आउदैन आदि । भन्दै नजाने भनेर म डरले तर्किय । पछि प्लान मकवानपुरका प्रमुख कालभान सरले श्रीमानलाई नै प्लान अफिसमा बोलाएर सल्ला गर्नुभएछ । दुबैको सल्लाहले मलाई पठाउँने निधो गर्नु भएछ ।
श्रीमानले नै हुन्छ तपाँईको विश्वास र जिम्मेवारीमा ढुक्कले पठाउछु भन्नुुभएपछि पठाउँने र लाने संस्थाको कुरा मिल्यो । अब मलाई चिन्ता भाषाको कसरी सहभागीता दिने रु भाषा मैले सुधार गर्ने कुनै समय र सम्भव नै छैन । भाषाको समस्याले लगानी अनुसारको सिकाई सफलता ल्याउन सक्दिन कि भन्ने थियो ।
पासपोर्ट बन्यो, मनमा डर बढ्दोे छ, जानेदिन नजिक नजिक आयो एउटी गाउँकी सामान्य महिला केही दिनका लागी विदेशिि भुमिमा हुने ७ दिने त्यस्ता तालिममा सहभागी हुन जादैछु । महिलाका आन्तरीक समस्याहरु संग पौढीखेल्दै, मेरा दैनिक घरायसी कार्यबोझहरु बालख छोरी र श्रीमानलाई सुम्पदै थाहा छैन के उपलब्धि ल्याउँला ।
नेपालबाट संस्थागत सहभागीता हुने प्लान नेपालका प्रतिनिधहरु संगै मेरो यात्रा पहिलो पटक प्लेनमा चढेको लिफ्टमा चढेर आकाश छुने घरमा पुगेको पनि मेरो पहिलो अनुभव नै थियो । पुगेको दिनै नौ राष्ट्रका सहभागी जम्मा भएर परिचात्मक कार्यक्रम राखे चिटमा जोडी नाम लेखेको रहेछ सबै जोडीले एक आपस हात मिलाउँदै, अंकमाल गर्दै परिचय दिए मेरो पालो आयो मलाई त अपरिचित मान्छे संग हात मिलाउनै कठिन टाढैबाट नमस्ते गरेर परिचय दिय । जर्मन देशका बुढा रहेछन खै हात पनि नमिलाएको भएर के के भनेर सबैलाई हसाउदै थिए ।
भोलिपल्ट विहान ८ बजे नास्ता पछि कार्यक्रम थियो । सबै देशका उस्तै उस्तै पोशाकमा म र बंगला देशकी भिन्न पोशाक साडीमा थियौ सबै महिलाहरु फोटो खिच्न झुम्मिएर आए ।
तालिम शुरुभयो । छ वटा ग्रुप बनाएर छुटै छुटै विषय वस्तु दिए । सहकारी संम्वन्धि तालिम भएकोले आफुले पनि बुझेका र सिकेका कुरा भन्नै पर्थ्यो । नेपालमा सहकारीको ईतिहास प्लानका सरहरुले भन्नू भयो मैले महिला सशक्तिरणकालागी सहकारीको भुमिका आफ्नो सिकाई र भोगाई नेपालीमा भने उल्था सरहरुले नै गर्नुभयो त्यो दिन राम्रै सहभागीतामा वित्यो ।
भोलिपल्ट सहकारी कसरी असफल हुन्छ भन्ने विषयमा व्याक्तिगत धारणा राख्नु पर्ने थियो सबै विहानै देखि पर्सनल ल्यापटप लिएर छलफल गर्दै बुदागत रुपमा तयार पार्न थाले म ट्वाल्ल परें अरुको भाषापनि बुझिदैनथ्यो । नेपालीमैै जानेका कुरा लेखौ अरुले पनि मेरो लेखाई बुझ्दैनथे। त्यतीकैमा प्रशिक्षक पुगे उनले अंग्रेजिमै भने जे आउँछ, अहिले सम्म जे बुझाई छ त्यै लेख्नुहोस तपाँईको बिचारमा सहकारी कसरी असफल हुन्छ ।
त्यसपछि मेरो दिमागको ढोका खुल्यो सहकारी तालिममा सुशासनका चार खम्बा सहभागीता, पारदर्शिता, जवफदेहिता र दुरदृष्टिता बारे सिकेको थिय, बुझेको पनि थिय । ठुलो चार्ट पेपर मागे र सहकारीको चारखम्बे घरको नक्साकोरें । चार पिल्लरमा यी चारकुरा लेखें छानोमा सहकारी लेखें अनि त्यी मैले लेखेका चारकुरा नजिकै अंङ्ग्रेजिमा के भन्छन लेखिदिनुन सर भनेर प्रेमसरलाई भने वाहाँले लेखिदिनु भयो । अब ढुक्क भय अगाडि उभिएर बोल्न अलिअली बानि परेकै थियो । लाग्यो अझै राम्रो संग हाउभाउका साथ प्रस्तुत हुनपर्छ । नेपालमा पुगेर पनि मेरो यो सहभागीताले जस लिनैपर्छ । लाने संस्थाको लगानी खिन्न नहोस ।
म आत्मविश्वास,आत्मबलका साथ अगाडि उभिय र भने म अग्रेजीमा वोल्न सक्दीन नेपालीमै कुरा राख्छु । सास नकाडी बसेकी मैले यति बोल्ने वितिकै तालि तररर बज्यो । मेरो झन खुसी र हौसला बढ्यो चारवटै पिल्लरको उदारण दिएर गज्जवले प्रस्तुत गरें । पछि त दिनभर ल्यापटपमा घोटिनेहरुको भन्दा कम छैन । राम्रो भयो रे भनेर प्रशंसा पो पाय । अनि बल्ल अरुले पनी मेरो सहभागीता देखेर अल्ली नजिक हुनथाले । प्रशिक्षक खुसी भएर सरहरुलाई राम्रो सहभागी ल्याईस भनेछन । म थाईल्याण्डमा हुदा प्लान नेपालमा पनि खबर भैसकेछ ।
अरु देशका पनि एक दुई जना म जस्तै ईङ्लिस नबुझ्ने रहेछन केही सोध्योकी मोबाईल जस्तो खै के हो झिकेर थिच्न थाल्थे र अनि भन्थे रु नबोले पनि अलिअली बुझ्थें , ठुटे ईङ्लिसले जवाफ दिन्थे उनिहरुपनी आधी बुझ्थेहोला । त्यो ग्रुपमा मात्र हैन समग्रमा सहभागीता राम्रै भएछ ।
थाहै थिएन कुन कुन बेला फोटो खिचेछन प्रमाणपत्र सहित सहभागीता अनुसारको फोटो सबैलाई सग सगै दिए । बोल्योकी टाँसलेटर डिभाईस थिच्नेको त्यै फोटो सहित टाँस्लेटर नाम राखेर दिंदा हल नै हाँसोले गुन्जीयो , कोही निदाई रहेका तालिममा निदाउनेको स्लिपिङमेन नाम सहित उहीँ फोटो यस्तै हाँसो धेरैकोमा भयो । मेरो झन कस्तो आउला कति हाँस्नेहुन भन्ने डरमा थिय लेडी क्याप्टेन भनेको राम्रो सहभागीता रहेको फोटो सहितको प्रमाणपत्र पाय अति खुसी भए ।
तालिमका सहभागीहरुलाई फिल्ड भिजिट पनि लगीयो म त दङ्ग परे सबै सहकारीहरुमा कम्प्युटर सिस्टममा काम भैरहेको । सबै सक्षम १ सहकारी मार्फत सडक,पुल,खानेपनि, घरेलु उद्योग आदि थुप्रै विकासे काम भएको देख्दा मलाई आश्चर्य लाग्यो नेपालमा कहिले यस्तै होला रु सबै भन्दा रहर कम्प्युटरमा हिसाब, किताबको काम गरेको हेर्ने ठुलो रहर जाग्यो । सहकारीले पनि त्यति धेरैलाई रोजगार देला भन्ने सोचेकै थिईन ।
सहकारी मार्फत महिला उद्यमशिलता स्वरोजगार,शैक्षिक स्तरउन्नती, महिलाको आर्थिक,सामाजिक,राजनैतिक सशक्तिकरण संगै स्वावलम्वी बनाएर सामाजिक नेतृत्वमा अगाडि बढ्ने र बढाउने अठोटका साथ तालिम सकेर नेपाल फर्किय ।
यिनै विषयमा समग्र महिलाहरुको क्षमता विकासका लागि प्लान नेपालको भुमिका हुनपर्ने कुरा राख्दै हामी पनि घरबार,बालबच्चा भन्दापनि प्यारो सहकारी सम्झेर लाग्यौं । त्यसको प्रतिफल तथा उपलब्धि पनि राम्रै पाएका छौं । सहकारी मार्फत चालिएका परिवर्तनका पाईलाहरुमा हिड्ने थुप्रै जनशक्तिहरु तयार भएर अहिले मकवापुरे महिलाहरुले उत्कृष्ट राष्ट्रिय पुरस्कार पाउनुको साथै स्वावलम्वी र आत्म निर्भर बनेका छन् ।
लेखक जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख हुनुहुन्छ ।