‘आइसाेलेसन र तीव्र परीक्षण नै काेराेनाविरुद्धकाे प्रमुख हतियार’
विश्व स्वास्थ्य संगठनको सहकार्यमा बेलायतको इम्पेरियल कलेज विश्वविद्यालयले गरेको अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्ध मुख्य हतियारका रूपमा प्रयोग गर्न सुझाएको छ ।
विश्वले ‘सोसल डिस्ट्यान्सिङ, आइसोलेसन, तीव्र परीक्षणलगायतका रोकथामका कदम नचालेको भए ९० प्रतिशत जनसंख्या कोरोना भाइरसबाट संक्रमित हुने अवस्था रहेको अनुसन्धानले देखाएको छ । उक्त अनुसन्धानले दुई सयभन्दा बढी देश र क्षेत्रमा संक्रमण फैलिसकेको र तीमध्ये धेरै देशको स्वास्थ्य सुविधा पहिलेदेखि नै कमजोर रहेको कारण यी कुराले मात्रै संक्रमण रोक्न सक्ने उल्लेख गरेको छ ।
यसका लागि प्रत्येक देशले आउँदा हप्तामा कसरी र कस्ता कदम चाल्छन् भन्ने कुरामा निर्भर गर्छ । प्रत्येक देशले प्रभावकारी खोप या औषधि नबनेसम्म खाद्यान्न एवं अत्यावश्यक सुविधा कायम गरेर भाइरस नियन्त्रणमा नआउन्जेल लकडाउनमा बस्न सक्ने हुनुपर्ने अध्ययनको निष्कर्ष छ ।