१ जना संक्रमित हुँदा ५९००० लाई फैलिन सक्छ कोरोना

जनपत्र
१५ चैत्र २०७६, शनिबार ०७:०४

कोरोना भाइरस महामारी विश्वमा रोकिने छाँटकाँट नै देखिँदैन । यसको संक्रमण निकै छिटो फैलिइरहेको छ । त्यसो त धेरै देशमा लकडाउन गरिएको छ । तर, अधिकांश देशमा सरकारको यो आदेशको उल्लघंन पनि भएको छ । जस्तो कि भारतमा । भारतमा आइतबार अभूतपूर्वक रुपमा जनता कर्फ्यू लगाइएको थियो । तर, त्यहाँ साँझ पाँच बजे मानिसहरु फेरि कुनै र्याली गरेजस्तो बाटोमा निकै धेरै निस्किएका थिए ।

छिमेकी मुलुक भारतमा अब कोरोनाको सामुदायिक विस्तार सुरु भएको छ, अर्थात् कम्युनिटी ट्रान्समिसन । यसको अर्थ हो, भारतमा अब कोरोना स्थानीय स्तरमा फैलिन थालेको छ । त्यसैले पनि त्यहाँ दैनिक प्रधानमन्त्री नरेन्द्र मोदीले जनतासँग घरमा रहन अनुरोध गरिरहेका छन् । भारतमा पछिल्लो आँकडा अनुसार आठ जनाको मृत्यु भइसकेको छ, ४ सयभन्दा धेरैमा कोरोना भइसकेको छ ।

आत्तिनु हुँदैन, तर के चाहिँ बिर्सनु हुँदैन भने कोरोना भाइरस निकै संक्रामक तथा खतरानक छ । यो जान्न निकै आवश्यक छ । विश्व स्वास्थ्य संगठनले केही अघि नै निकालेको एक रिपोर्टमा एक व्यक्तिले यो कोरोना भाइरसलाई कम्तिमा पनि ३ जनालाई फैलाउने अनुमान गरिएको छ । अनि युरोपमा जब यसको संक्रमण निकै फैलियो, त्यसपछि निकालिएको रिपोर्टमा भनिएको छ, एक जनाकै कारण कोरोना भाइरस ६ जनासम्म फैलिन सक्छ । अनि यो चेन बढ्दै जाँदा कोरोना भाइरस एक जनाबाट नै हजारौँ मानिसमा पुग्न सक्छ । पछिल्लो समय इटाली र युरोपका अन्य मुलुकमा पनि यही देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

युनिभर्सिटी अफ लन्डनका एक विभागीय निर्देशक प्रोफेसर हुड एडवर्डले कोरोना भाइरसलाई सहज भाषामा यो कति खतरानक हुन्छ भनेर सम्झाएका छन् । उनले नर्मल फ्लु हुँदा संक्रमित व्यक्तिले १ वा १।४ जनासम्मलाई यो फैलाउने बताएका छन् । यसको अर्थ यो चेन १० पटक दोहोरिँदा एक जनाले १४ जनालाई मात्र संक्रमित बनाउन सक्छन् । तर, कोरोना भाइरस एक जनाबाट कम्तिमा पनि तीन जनालाई फैलिएको खण्डमा १० पटक यही चेन चल्ने हो भने एक व्यक्तिबाट नै कोरोना ५९ हजार मानिसमा पुग्ने उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*