लकडाउनको दोस्रो दिनः हेटौंडा बजार सुनसान, अत्यावस्यक पसल खुल्ला

जनपत्र
१२ चैत्र २०७६, बुधबार ०७:२९

हेटौंडा । सरकारले गरेको लकडाउनको दोस्रो दिन आज हेटौंडा बजार हिजोको तुलनामा झनै सुनसान भएको छ । हिजो मकवानपुर आसपासका जिल्लाबाट गन्तव्यमा जान निस्कीएका यात्रुहरुका कारण हेटौंडा वजारमा थोरै सवारीका साधन चलेको देखिए पनि आज भने अली सुनसान देखिएको छ ।

बजार सुनसान देखिएपनि अत्यावस्यक सेवा भने खुल्ला छन् । हेटौंडाका औषधि पसल, मेडिकल, तरकारी र फलफुलका पसल भने खुल्ला रहेका छन् । लकडाउनको दोस्रो दिन भएकाले हेटौंडामा घरबाट बाहिर निस्कनेहरु कमै मात्रामा रहेका छन् । हिजो लकडाउन उलंघन गर्ने तीन दर्जन भन्दा वडी सवारीका साधनलाई मकवानपुर प्रहरीले कार्बाही गरेको छ । त्यस कारण पनि आज सवारीका साधन लिएर सडकमा निस्कनेहरु कमैमात्रामा रहको छन् ।

सरकारको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । हेटौंडा बजार क्षेत्रमा सुनसान भएको छ । हेटौंडाको चोकचोकमा प्रहरी तैनाथ गरिएको छ । लकडाउन उलैघन गरे छ महिनासम्म कैद गर्न सक्ने कानूनी व्यावस्था रहेको छ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले हिजो विहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार हेटौंडाका चोकचोकमा प्रहरी परिचालन गरिएको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुसिल सिंह राठोरले जानकारी दिनुभयो । सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।

सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ । औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट गरिएको छ । यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।

गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ(जाउ गर्न नदिन लकडाउन गरिन्छ । लकडाउन संक्रामक रोग ऐन(२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ । लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ महिनासम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*