‘किताब लेख्‍न हेटौँडा आएँ, तर भाषण गर्न काठमाडौं नै बोलाउँछन्’

नेपाल र बंगलादेशबीचको सम्बन्धबारे पुस्तक लेख्दै ७८ वर्षीय हिरण्यलाल श्रेष्ठ ।
जनपत्र
८ चैत्र २०७६, शनिबार १९:५६

हेटौंडा । हेटौंडा २ चौकी टोलस्थित पुरानो घरमा ७८ वर्षीय हिरण्यलाल श्रेष्ठ पुराना पत्रिकाका कटिङ केलाएर पुस्तकका लागि आवश्यक विवरण संकलन गर्दै छन्। परराष्ट्र मामिलाका जानकार श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानको आग्रहमा नेपाल र बंगलादेशबीचको सम्बन्धबारे पुस्तक लेख्दै छन्।

काठमाडौंमै बस्दै आएका श्रेष्ठ पुस्तक लेख्‍नकै लागि हेटौंडास्थित पुरानो घरमा आएका हुन्। उनले भने, ुकिताब लेख्‍न घर आएको छु। घरमा बस्नै दिँदैनन्। भाषण गर्न काठमाडौं नै बोलाएको बोलायै गर्छन्। परराष्ट्रविद् श्रेष्ठले काठमाडौंमा विभिन्न कार्यक्रम र मिडियामा अन्तर्वार्ता दिन जानुपर्दा लेखनका लागि समय पर्याप्त नभएकोले हेटौंडा आएको बताए।

‘काठमाडौंमा दिनकै २र३ वटा कार्यक्रममा सहभागी हुनुपर्ने, त्यसो हुँदा लेखनमा समस्या हुने देखिएपछि हेटौंडा आएको छु’, श्रेष्ठले भने, ‘यहाँ हेटौंडामा भए महिनामा २र३ वटा कार्यक्रम हुन्छ होला। त्यसैले यतै आएको छु। एक महिना हुन लाग्यो।’ श्रेष्ठले पुस्तक लेख्नका लागि २०२६ सालदेखि विभिन्न पत्रिकामा बंगलादेशबारे लेखिएका समाचार, विचार तथा पाठ्य सामग्रीको कटिङलाई केलाइरहेका छन्। ‘दुई ट्यांका न्युज कटिङ लिएर आएको छु। सबैलाई केलाइरहेको छु,’ श्रेष्ठले भने।

भाषाकै कारण पाकिस्तानसँग विभाजित भएको बंगलादेशको सन्दर्भ उल्लेख गदै भारत र चीनपछि भौगोलिक रुपमा नजिक रहेको बंगलादेशसँग नेपालको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध पनि नजिकको रहे पनि नेपाल र बंगलादेशबीचको सम्बन्धका बारेमा पुस्तक प्रकाशित नै नभएको उनको भनाइ छ। १० महिनाभित्र पुस्तक तयार गर्ने गरी लेखन कार्य भइरहेको श्रेष्ठले बताए। दैनिक ५ घण्टा अध्ययन गरेर पुस्तकको खेस्रा आफैंले लेखेर कम्प्युटरमा सार्न भने एकजना सहयोगीको साथ लिएका छन्। पुरानो घरमा बसेर पुराना कटिङलाई केलाउँदै तयार पारेको खेस्रा बोकेर श्रेष्ठ कम्प्युटरमा सार्न सहयोगीको घरमै पुग्छन्।

बंगलादेशका बारेमा आवश्यक सूचनाको खोजी गर्न श्रेष्ठ एक पटक बंगलादेश पुगेर आएका छन् भने पुनः बंगलादेश जाने योजनामा छन्। श्रेष्ठ भने, ‘बंगलादेशका बारेमा बुझ्न यहाँ रहेका बंगलादेशी नागरिक, व्यवसायी, उद्यमीसँग पनि कुराकानी गरिरहेको छु।’ मुटुको शल्यक्रिया गरिसक्नु भएका श्रेष्ठ आफ्नो स्वास्थ्यमा केही समस्या भए पनि सक्रिय हुन डराउँदैनन्। श्रेष्ठ भन्छन्, ‘सक्रियता नै व्यक्तिको मापक हो। युवा या ज्येष्ठता उमेरको गन्तीले नभई सक्रियताले हुन्छ। म ७८ वर्षको युवा हुँ।’

विहान ४ बजे उठेर नित्यकर्म पूरा गरेपछि आफैं खाजा बनाएर खाने गरेको श्रेष्ठले सुनाए। पुस्तकका लागि आवश्यक अध्ययन गर्नुका साथै खेस्रा तयार पार्ने क्रममा व्यस्त हुँदा खाना भने नजिकैको होटलमा खाने गरेका श्रेष्ठ बिहान एक पटक बजार पुगेर पत्रपत्रिका पढ्न भ्याउँछन्। उनले बिहानै पत्रिका पढ्न नपाएर असहज भएको पनि बताए। उनले भने,‘मलाई पेटको खुराक भन्दा दिमागको खुराक महत्वपूर्ण छ। बरु एक छाक खाना नखाए पनि सामान्य जस्तै रहन्छु। तर, दैनिक घटनाक्रम जान्न, बुझ्न पत्रपत्रिका र कुनै सन्दर्भका बारेमा बुझ्न मलाई पुस्तक पढ्नै पर्ने हुन्छ।’

हालसम्म ३३ देशको भ्रमण गरिसकेका श्रेष्ठले २०२६ सालदेखि एकसय २० देशका विषयमा समाचारपत्र, पत्रिकामा प्रकाशित कटिङ राख्ने गरेका छन्। ३० वर्ष पत्रकारिता समेत गरेका श्रेष्ठ २०२६ सालमा पहिलो पुस्तक प्रकाशन गर्न क्यामेरा बेच्नु परेको स्मरण गर्छन्। श्रेष्ठले आफ्नो पहिलो पुस्तक ‘नेपाल(भारत व्यापार र पारवाहन समस्या’ २०२६ सालमा प्रकाशन गरेका थिए। थाहा खवरका लागि अमृत चिमरियाले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*