वाग्मती प्रदेशको नेकपा मुख्य सचेतकमा केशव पाण्डे
हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतकमा प्रदेश सभा सदस्य केशव राज पाण्डे नियुक्त हुनु भएको छ । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गर्नु भएको हो । नेकपा नुवाकोटका नेता रहनुभएका पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को “एक” बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
२०४० सालमा अनेरास्ववियु पाँचौको नुवाकोट अध्यक्ष बन्नुभएका पाण्डे वि.सं.२०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बन्नुभएको थियो । पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एसियाली विद्यार्थी संगठनको दुई कार्यकाल सम्म सचिव बन्नुभएको थियो । तत्कालिन नेकपा एमालेको आठौं अधिवेशन पछि विदेश विभागको प्रमुख हालका प्रधानमन्त्री केपी शर्मा वलीहुँदा पाण्डे सचिव हुनुहुँन्थ्यो । पाण्डे तत्कालिन नेकपा मालेको पाँचौ अधिवेशनदेखि हाल सम्मका सबै अधिवेशनको प्रतिनिधि हुनुहुन्थ्यो ।
यस अघि मुख्य सचेतक रहनुभएका रामेश्वर फुयाल गत चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनु भएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठलाई आजै गराइएको जनाइएको छ ।






