अब अनुमतिबिनै फोन ट्यापिङ

जनपत्र
६ चैत्र २०७६, बिहीबार ०६:००

राष्ट्रिय अनुसन्धान विभागले अदालतको अनुमतिबिना फोन ट्यापिङ गर्न पाउने भएको छ । फोन ट्यापिङको प्रयोजन भने स्पष्ट हुनुपर्ने र कसैले यसको दुरुपयोग गरे दण्ड सजायको भागिदार हुनु पर्नेछ । सरकारले ल्याएको विशेष सेवा ऐनमा अनुसन्धान अधिकारीलाई फोन ट्यापिङ गर्न दिने व्यवस्था छ । व्यक्तिको गोपनीयतालाई कारण देखाउँदै फोन ट्यापिङ गर्न दिने कि नदिने भन्ने विषयमा संसदीय समितिमा लामो विवादपछि बुधबार बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकले सहमति जुटाएको हो ।

जुन प्रयोजनका लागि फोन ट्यापिङ गरिएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग हुने र अन्य प्रयोजनमा प्रयोग गरिए दण्डनीय हुने व्यवस्था राखेर फोन ट्यापिङ गर्न दिने सहमति जुटेको हो ।

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले अदालतको अनुमतिमा मात्रै फोन ट्यापिङ गर्न पाउने व्यवस्था हुनुपर्ने अडान राखेका थिए । बुधबारको बैठकमा भने गोपनीयताको हकको सुरक्षा हुने र फोन ट्यापिङको विवरण अन्य प्रयोजनमा प्रयोग नहुने भए स्विकार्ने गरी सहमति जुटेको राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले जानकारी दिए । फोन ट्यापिङलाई प्रमाण मान्ने कि नमान्ने भन्नेमा विषयमा भने सहमति हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*