कोरोनाको विषयमा फिल्म ‘कोरोना प्यार हे’ बन्ने

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको डरले अहिले मानिसहरु घरको चार कुनामा कैद हुन बाध्य भएका छन् । यसको प्रभाव विश्व फिल्म बजारमा समेत परेको छ । हलिउड र बलिउडका प्रतिक्षीत फिल्महरुको प्रदर्शन स्थगित भएका छन् भने हजारौं सिनेमा हल बन्द भैसकेको अवस्था छ । कोरोनाका कारण नेपाली फिल्म क्षेत्रमा समेत संकट उत्पन्न भएको छ ।
भारतमा कोरोना संक्रमणको संख्या बढिरहँदा यही विषयमा आधारित भएर फिल्म निर्माण हुने भएको छ । फिल्मको टाइटल समेत फाइनल भैसकेको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, इरोस इन्टरनेशनलले ‘कोरोना प्यार हे’ नाममा फिल्म बनाउन लागेको हो । फिल्मको टाइटल बलिउड अभिनेता ऋतिक रोशनको डेब्यू फिल्म ‘कहो ना प्यार हे’ सँग मिल्दोजुल्दो छ ।
फिल्मलाई एक लभस्टोरीको रुपमा बनाउने तयारी गरिएको छ । इरोस इन्टरनेशनलका कृष्णा लुल्लाले फिल्मको विषयमा भनेका छन्, ‘अहिले फिल्मको स्क्रिप्टमा काम भैरहेको छ । यसलाई एक लभस्टोरीको रुपमा बनाउँदैछौं । अहिले हामी परिस्थिति अलि राम्रो हुनको लागि कुर्दैछौं । किनकि, अहिले सबै कुरा ठप्प छ । परिस्थिति सामान्य हुने वित्तिकै हामी फ्लोरमा जानेछौं ।’
निर्माण टिमले कलाकारहरुको नाम भने सार्वजनिक गरेको छैन । न त निर्देशकको नै टुंगो लागेको छ । केही दिनमा कलाकार र निर्देशक फाइनल हुने इरोस इन्टरनेशनलका कृष्णा लुल्लाले जानकारी दिए । यसअघि इरोसले ‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु’ लगायतका फिल्महरु निर्माण गरिसकेको छ । इरोससँगै अन्य मेकर पनि कोरोनाको विषयमा फिल्म बनाउने तयारीमा छन् ।