हेटौंडाका १४ हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप

हेटौंडा / हेटौंडा उपमहानगरपालिका क्षेत्रका १४ हजार बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप लगाउने भएको छ । नौ महिना देखि ५ वर्ष सम्मका १४ हजार जना बालबालिकाहरुलाई खोप लगाउन लागिएको हो । दादुरा, रुवेला रोगबाट वच्नका लागि यो खोप लगाउन लागिएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य साखाका अधिकृत भोला चौलागाईले वताउनुभयो ।
हेटौंडामा यही चैत ११ गते देखि १९ गते सम्म खोप लगाउन लागिएको हो । सरकारले सतप्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिए पनि मकवानपुरमा अझै २६ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको पाइएको छ ।
जिल्लामा दोस्रोे चरणको खोप अभियान सञ्चालनको तयारीमा रहेको स्वास्थ्य कार्यालयले अघिल्लो आर्थिक वर्षको तथ्याङ्क देखाउँदै भौगोलिक बिकटता र सचेतनाको अभाबका कारण २६ प्रतिशत बालबालिका पूर्णखोपबिहीन भएको बताएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायका अनुसार गत आर्थिक वर्ष०७५र७६ मा मकवानपुरमा ७४ प्रतिशत बालबालिकाले दादुरा रुवेलाको खोप लगाए पनि २६ प्रतिशतले लगाएका छैनन् । मकवापुरको जस्तै तथ्याङ्क देशभरको रहँदा सरकारले २०१९ सम्म दादुरा रुवेला नियन्त्रित मुलुक घोषणा गर्ने भने पनि अभियान सफल नभएपछि सन् २०२३ सम्म र्पुयाएको जानकारी दिए ।
जिल्लास्तरीय खोप समन्वय समितिले सञ्चालन गर्ने अभियान जिल्लामा दुई चरण चल्ने बताइएको छ । १० स्थानीय तह रहेको मकवानपुरमा पहिलो चरणमा चैत्र १ गतेबाट बकैया, राक्सिराङ, कैलाश, बागमती र मनहरी गाउँपालिकामा र दोश्रो चरणमा हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिकासहित भिमफेदी, इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिकामा सञ्चालन हुने अभियान चैत्र २३ गते सकिने बताइएको छ ।
अभियानमा ९ देखि २४ महिना उमेर समुहका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरी ४३ हजार ३०३ जना बालबालिकालाई खोप लगाइने समितिले हेटौंडामा पत्रकार अन्तरक्रिया गर्दै जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायाका अनुसार बालबालिकालाई खोप लगाउँनका लागि ४४ वटा स्वास्थ्य चौकी र १०२ वटा बडामागरी ५४१ वटा खोपकेन्द्रमार्फत चार हजार ६६२ भाइल खोप लगाइने बताइएको छ ।
एक भाइल बराबर १० जना बालबालिकालाई खोप दिन मिल्ने छ । खोपका लागि ५८९ खोप कार्यकर्ता, एक हजार १७८ जना स्वयमसेवकले दिनमा ७३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका प्रमुख उपाध्यायले जानकारी दिए । उनका अनुसार मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिका दादुरा,रुवेला खोपको जोखिमपूर्ण क्षेत्रको रुपमा रहेको छ ।