वीरगंज कारागारमा कोरोनाको त्रास, मास्क बनाउने काममा लागे कैदीबन्दी

जनपत्र
५ चैत्र २०७६, बुधबार ०६:२७

वीरगंज कारागारले कारागार भित्र तथा कैदीबन्दी भेट्न आउनेहरुका लागि कोरोना भाइरसविरुद्धको जनचेतना अभिवृद्धि अभियान शुरु गरेको छ। कोरोना भाइरसको त्रास नेपालमा पनि बढ्दै गइरहेका बेला कारागारमा रहेका कैदी तथा भेट्न आउने आफन्तलाई सचेत गराउन कोरोना भाइरसविरुद्धको अभियान शुरु गरिएको वीरगंज कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताए।

मंगलवार एक कार्यक्रमका बीच वीरगंज कारागार भित्र रहेका १ हजार ३ सय १४ जना कैदीहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ। त्यसैगरी कैदी बन्दीलाई भेट्न आउनेहरुलाई समेत कारागार भित्रै बनाइएका मास्क उपलब्ध गराइएको प्रमुख पोखरेलले बताए। कैदीबन्दीहरुलाई कोरोना भाइरसविरुद्ध लड्ने क्षमताको विकास तथा सरसफाइ सम्बन्धी चेतना समेत दिइएको छ।

यसैबीच वीरगंज तथा आसपासका बजारमा मास्कको अभाव सृजना भएपछि वीरगंज कारागारभित्र रहेका कैदीबन्दीहरुले बिक्रीका लागि मास्क बनाएका छन्। ६० हजार थान मास्क कारागारबाट बिक्री भइसकेको र १ लाख थान मास्क बनाउन बजारका व्यवसायीहरुले अर्डर दिएपछि मास्क बनाउने काम तीव्र रुपमा भइरहेको वीरगंज कारागारका पूर्वनाईके शेख भोलाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*