हेटौंडामा टिपर दुर्घटना, ४ जना घाइते

हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा–१७ सालकपार्क अगाडि टिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित खोटार खानीबाट शिवमको ढुंगा लिएर उद्योगतर्फ आईरहेको टिपर शनिबार दिउँसो दुर्घटना भएको हो ।
ना ६ ख ७२३१ टिपर दुर्घटना हुँदा चालक मकवानपुरगढी वडा नम्बर २ का लक्ष्मण बिक, टिपरमा सवार जनज्योति प्राविका शिक्षिकाद्वय हेटौडा–७ की अनिता पौडेल, मकवानपुरगढी–६ की पार्वती लम्साल र मकवानपुरगढी–२ का गोपाल तिमल्सिना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ भने एकजना सामान्य घाइते भएको प्रहरी चौकी चौघडाका प्रहरी सहायक निरीक्षक डम्बर केसीले बताए । ब्रेक फेल भई टिपर सालक पार्क निर्माण राखेको इट्टाको चाङ भत्काएर भित्तामा ठोकिन पुगेको थियो ।