तिलोत्तमा नगरलाई खरको छानामुक्त बनाइँदै

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरबासीलाई जस्ता दिएर ‘खरको छानामुक्त’ नगर बनाउने भएको छ। आर्थिक अभावका कारण खरको छानामुनि बस्न बाध्य नगरबासीको राहतका लागि नगरपालिकाले खरको छानामुक्त अभियान चलाउने भएको हो।
नगर कार्यपालिकाको ८०औं बैठकले खरको छाना प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्न उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यपालिका सदस्य कृष्णप्रसाद पौडेल र नारायण न्यौपाने सदस्य रहेको कार्यदल गठन गरेको छ। कार्यदलले नगरपालिकामा रहेका खरको छानायुक्त घरको लगत सङ्कलनपछि वडा समितिको निर्णयअनुसार सिफारिस भई आएका घरधुरीलाई जस्तापाता उपलब्ध गराउनेलगायत काम गर्नेछ।
नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खरको छाना प्रतिस्थापन कार्यक्रमका लागि ३० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खरको छाना प्रतिस्थापन कार्यक्रमका लागि ३० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ। कार्यपालिका बैठकले कार्यक्रमका लागि अपुग बजेट अर्को आर्थिक वर्षमा व्यवस्था गरेर भए पनि नगरलाई खरको छानामुक्त नगरपालिका बनाउने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।