भण्डारी दम्पती हत्या प्रकरणः दुधे बालिका अझै बेहाेस, टाउकोमा गम्भीर चोट

जनपत्र
१९ फाल्गुन २०७६, सोमबार ०६:४१

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि १९ किलोमिटरको दुरीमा झलारी बजार पर्दछ। बजार भन्दा केही दुरीमा पूर्व–पश्चिम महेन्द्र राजमार्गको छेवैमा टायलले छाएका दुईवटा कच्ची घर छन्। त्यही वरपर फूल तथा बोटविरुवा र सानो टिनको गेट छ। गेटमा लेखिएको छ, ‘वेलकम–शुभ लाभ’।

यो दृश्य कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित जयलाल भण्डारीको घरको हो, जहाँ गेटमा उल्लेख गरिएको ‘शुभ’ ले पनि भण्डारी परिवारलाई ‘लाभ’ गरेन। त्यो घरमा बुधवार राती दर्दनाक घटना भयो, जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारी मृत अवस्थामा भेटिए। उनीहरुकी ६ महिने छोरी घाइते अवस्थामा भेटिइन्। बावुआमाको मृत्युपछि घाइते बालिका टुहुरी भइन्। भण्डारी दम्पती ६ महिने दुधे छोरीसहित बस्थे। अहिले भने घरमा ताला लागेको छ। घर सुनसान छ।

मृतक जयलालको धनादेवीसँगको दोस्रो बिहे थियो। तीन वर्ष अगाडि क्यान्सरका कारण जेठी श्रीमतीको मृत्युपछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुर बस्ने धनासँग उनले दोस्रो विवाह गरेका थिए। जेठी श्रीमतीबाट दुई छोरा र एक छोरी छन् भने कान्छी श्रीमतीबाट एक बालिका।

६ महिने दुधे बालिकाका लागि धनादेवीको माइत ‘अमरपुर’ बाट हरेक दिन दुध ल्याउने गरिएको थियो। बिहीवार दुध ल्याउनका लागि कोही नआए पछि फागुन १५ गते धनाकी फुपुकी छोरी दुध पु(याउन घर पुगिन्। उनी घर पुग्दा घर सुनसान थियो। दुई घरमध्ये एउटाको चुकुल लागेको थियो, अर्कोको लागेको थिएन, ढोका केही बन्द गरे जस्तो गरिएको थियो।

‘घर सुनसान देखे पछि दुध लिएर फर्किन लागेकी थिएँ, त्यही बेला बच्चा रोएको आवाज सुनेँ।’ मृतक धनाकी भतिजी पार्वती रावलले बिहीबारको दिन सम्झँदै भनिन्, ‘त्यस पछि अगाडि हेर्दा रगत देखेँ, ढोका खोले, त्यहाँ भिनाजु सुत्नु भएको थियो, फुच्ची एकातर्फ रोइरहेकी थिइ, अर्को कोठामा हेरेँ त्यहाँ पनि रगत नै रगत थियो।’

त्यस पछि प्रहरीको १०० नम्बरमा फोन गरेर विभत्स घटनाको खबर गरेको र प्रहरी त्यहाँ पुगेको पार्वतीले बताइन्। बुवा आमाको मृत शव रहेको घरभित्र शिशु मात्र जीवित थिइन्। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*