आफ्नै लगानीमा १० स्थानमा आकाशेपुल बनाउँदै काठमाडौं महानगर

जनपत्र
१८ फाल्गुन २०७६, आईतवार ०७:०५

काठमाडौं महानगरपालिकाले आफ्नै लगानीमा तीन वर्षभित्र १० वटा आकाशेपुल बनाउने भएको छ । सडक दुर्घटना न्यूनीकरण, पैदलयात्रुको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले महानगरले विभिन्न १० स्थानमा आकाशेपुल बनाउने लक्ष्य लिएको हो ।

सहरी पूर्वाधार विकास विभागका अनुसार चालू आर्थिक वर्षभित्रै काठमाडौंमा तीनवटा आकाशेपुल सम्पन्न गर्ने लक्ष्य छ । विभागका इन्जिनियर प्रेमकुमार श्रेष्ठले अघिल्लो आर्थिक वर्ष नै सम्पन्न गर्ने भनिएका ती पुल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनले भने, ‘जहाँ धेरै भिडभाड हुन्छ, त्यहाँ सडक पार गर्न पनि समस्या छ, त्यस्ता ठाउँमा आकाशेपुल बनाउने महानगरको योजना छ ।’

महानगरपालिकाले बनाउन लागेका सबै पुल फलामका हुन् । पुलको चौडाइ दुई मिटरको हुनेछ । महानगरले चालू आर्थिक वर्षको अन्त्यसम्म माइतीघर, चाबहिल र जयबागेश्वरीमा पुल निर्माण गरिसक्ने इन्जिनियर श्रेष्ठले बताए ।

विभागका अनुसार माइतीघरको आकाशेपुल १६ मिटर लामो हुनेछ । गत असारमै ६८ लाख ७१ हजार तीन सय १५ रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको कोसी विल्डर्सले फागुन मसान्तभित्र काम सक्नुपर्ने सम्झौता छ । पुल निर्माण अन्तिम चरणमा पुगेको छ । इन्जिनियर श्रेष्ठले भने, ‘पुल तयार भइसकेको छ, अब जोडेर प्रयोगमा ल्याउने हो, सम्भवतः चैतको पहिलो साताबाट पुल प्रयोगमा आउँछ ।’

चाबहिल र जयबागेश्वरीमा पनि पुल निर्माणको काम सुरु भएको वडा नम्बर ७ का अध्यक्ष शुद्ध डंगोलले बताए । चाबहिल चोक र जयबागेश्वरीमा बन्ने पुल २२ मिटर लामो हुनेछन् । चाबहिलमा आगामी असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ८२ लाख ६६ हजार रुपैयाँमा कान्छामान निर्माण सेवाले जिम्मा लिएको वडाध्यक्ष डंगोलले बताए । यस्तै, जयबागेश्वरीको पुल ७३ लाख ४३ हजार नौ सय ५५ रुपैयाँमा रिजेन्सी विल्डर्स प्रालिले बनाउँदै छ ।

महानगरपालिकाले आर्थिक वर्ष ०७४(७५ लाई आधार वर्ष बनाएर पाँच वर्षभित्र दशवटा आकाशेपुल बनाउने लक्ष्य लिएको थियो । आर्थिक वर्ष ०७९÷८० भित्रमा सबै पुल निर्माण सम्पन्न गर्ने महानगरपालिकाको योजना छ । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*