‘आमा’ क्लासिक फिल्म : नीर शाह

जनपत्र
१६ फाल्गुन २०७६, शुक्रबार ०७:०३

‘पशुपति प्रसाद’ जस्तो फिल्म बनाएर दर्शकको विश्वास जितेका दीपेन्द्र के। खनाल निर्देशित फिल्म ‘आमा’ ले अहिले दर्शक रुवाइरहेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मको व्यापार दिनप्रतिदिन उकालो लाग्दै गएको छ भने दर्शकबाट लोभलाग्दो प्रतिक्रिया मिलेको छ । समीक्षकले पनि फिल्मलाई उत्कृष्ट भनेका छन् । फिल्म हेरेका प्रायः दर्शक भावुक हुँदै फर्किएका छन् ।

‘वर्ड अफ माउथ’ उच्च रहेको फिल्मलाई फिल्मकर्मीहरुले पनि निकै रुचाएका छन् । बुधवार राजधानीको कुमारी हलमा निर्माण टिमले फिल्मकर्मीलाई बोलाएर फिल्म देखाएको थियो । फिल्मले पाएको सकारात्मक प्रतिक्रियाका कारण पनि हलमा फिल्मकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो । फिल्म हेर्न पुगेका बरिष्ठ कलाकार नीर शाहले ‘आमा’ उत्कृष्ट बनेको बताए ।

‘जुन कथा लिएर जे बनाउँछु भनेर निर्देशक अगाडि बढ्नुभयो त्यसमा उहाँले कहीँ कम्प्रमाइज गर्नुभएन । जे बनाउँछु भन्नुभयो त्यही बनाएर देखाउनुभएको छ,’ उनले अगाडि भने, ‘जीवन आमा होइन भन्नेलाई बेग्लै अर्को कल्पनाको संसार होला । तर, जीवन आमा पनि हो भन्नेहरुका लागि एउटा क्लासिक फिल्म बनेको छ । यसले नेपाली फिल्म क्षेत्रलाई अझ अगाडि बढाएको छ ।’

चलचित्र निर्माता संघका अध्यक्ष तथा फिल्म निर्माता आकाश अधिकारीले छोरी पनि छोरा बनेर देखाउन सक्छ भन्ने कुरा फिल्मले देखाएको बताए । निर्देशक खनाल गहिराइमा गएर फिल्म बनाउने मेकर रहेको बताउँदै आफूलाई ‘पशुपति प्रसाद’ भन्दा पनि ‘आमा’ उत्कृष्ट लागेको उनको कथन छ । ‘निर्देशक दीपेन्द्र के। खनालको लेखन, निर्देशन र छायांकन गजब छ,’ उनले भने ।

चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफू फिल्म हेरेर वास्तवमै रोएको बताए । फिल्म हेरिरहँदा ५र१० पटक दिवंगत आमालाई सम्झिएको बताउँदै उनले गहभरी आँशु पार्दै भने, ‘मेरो जीवनमा पनि फिल्मले उठाएको जस्तै घटना घटेको थियो । म अमेरिकामा हुँदा आमा वित्नुभयो । तर, कागजी झमेलाले म आउन पाइनँ । जसले गर्दा मैले आमाको अन्तिम पटक मुख पनि हेर्न पाइनँ ।’

उनले फिल्म हेर्दा आफूले पटक पटक आमालाई सम्झिएको बताए । उनले निर्देशक खनालको निर्देशकीय पाटोको प्रशंसामा पनि शब्द खर्चिए । निर्देशक खनाल नेपाली फिल्म क्षेत्रको सिरियस मेकर रहेको बताउँदै ‘आमा’ हरेक घरको कथा रहेको उनको भनाई छ । त्यस्तै, उनकी श्रीमती तथा चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलले पनि फिल्म बुलन्द रहेको बताइन् ।

अभिनेत्री ऋचा शर्मा भने फिल्म हेरेर निस्कँदा आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । उनी आँखाबाट बगेका आँशुका धारा पस्दै थिइन् । गएको पुषमा आमा गुमाएका कारण पनि उनलाई फिल्मले कतिसम्म छोएको थियो भन्ने कुरा उनको आँखाबाट बगेका आँशुले अभिव्यक्त गर्थ्यो । दिवंगत आमालाई सम्झिएर भावुक भएकी उनी सञ्चारकर्मीको अगाडि बोल्न समेत सकिनन् ।

फिल्म ‘आमा’ ले तीन आमाको कथा वाचन गरेको छ । एक मिथिला शर्मा, जो भर्‍याङबाट लडेर जीवन र मृत्युसित सङ्घर्ष गरिरहेका पतिको हेरचाहमा खटिएकी छन् । दोस्रो सुरक्षा पन्त, जो निसन्तान छिन् र टेस्ट ट्यूब बेबीको सहायताले आमा बन्नका लागि पैसाको जोह गर्दैछिन् । तेस्रो सरिता गिरी, जो आमा बनेर पनि बच्चा विरामी भएका कारण छुन समेत पाएकी छैनन् ।

निर्देशक खनालले तीन आमाको पीडालाई निकै मनछुने ढंगबाट प्रस्तुत गरेका छन् । अस्पतालले उपचारको नाममा गर्ने लुटलाई पनि फिल्मले उदाङ्गो पारेको छ । छोरी छोराभन्दा कम हुँदैनन् भन्ने सन्देश पनि फिल्मले दिएको छ । अस्पतालको मुर्दा घरमा श्रीमानको शवमाथि मुसाहरू कुदिरहँदा गेट बाहिरबाट श्रीमती ९मिथिला शर्मा० ले मुसा धपाएको दृश्यले सबभन्दा बढी छुन्छ ।

अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्तले उत्कृष्ट अभिनय गरेका छन् । ‘आमा’ बाट सुरक्षाले आफूलाई अब्बल अभिनय गर्नसक्ने अभिनेत्रीको रुपमा प्रमाणित गरेकी छन् । भने, भूमिका लामो नभए पनि सुरिता गिरीको अभिनयले मन छुन्छ । सुरक्षाको श्रीमान्को भूमिकामा रहेको मनीष निरौलाको अभिनय पनि उम्दा छ । फस्ट हाफ सुस्त भए पनि मध्यान्तरपछि फिल्म बुलन्द बनेको छ । फिल्मी खबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*