हेटौंडाको चुरीयामाइ सुरुङमा बागमती प्रदेश सरकारको चासो

चुरीयामाइमा प्रवेशद्वार र सुरुङ्को प्रवलीकरण गर्ने तयारी ।
जनपत्र
१२ फाल्गुन २०७६, सोमबार ०७:५८

हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बाराको सिमानामा रहेको हेटौंडाको चुरीयामाई मन्दिर नजिक प्रवेशद्वार निर्माण गर्ने भएको छ । प्रदेश २ को सिमाना र बागमती प्रदेश छिर्ने प्रमुख नाकामा प्रदेशद्वार निर्माण गरिने भएको हो ।

आउँदो आथिक वर्षको सुरुवातबाट काम सुरु गर्नेगरी धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित चुरीयामाइमा प्रवेशद्वार निर्माण गर्न लागिएको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले वताउनुभयो ।

चुरीयामाईको जिर्ण सुरुङको प्रवलीकरण गरिने

बाराको सिमानामा रहेको हेटौंडाको चुरीयामाई सुरुङ २०७२ सालको भुकम्पले गर्दा असुरक्षित वनेकाले यसको प्रवली करण गर्न बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तयारी गरेको छ ।

यस क्षेत्रलाई धार्मिक र पर्यटन सम्पदा क्षेत्रको रुपमा विकास गर्दै लैजानका लागि सुरुङको प्रवलीकरण गरिने भौतिक पूर्वाधार विकास मन्त्री फुयालले वताउनुभयो । चुरीयामाई सुरुङको यो वर्ष अध्ययन गरेर प्रवलीकरण गरिने वताउनुभयो ।

चन्द्र शमशेरले शिलान्यास गरेको पहिलो सुरुङमार्ग

नागढुंगामा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘सडक तथा बाटामा यो पहिलो टनेल हो । राजमार्ग र बाटोको सन्दर्भमा यस प्रकारको टनेलको सुरुआत गरेका छौं । योजना, प्रविधिको विकासको नयाँ मार्ग र तरिकाले हामी नयाँ उचाईमा पुगेका छौं, अर्को फ्डको मारेका छौं ।’

के साँच्चै नागढुगा सुरुङमार्ग नेपालका सडकमा बन्न लागेको पहिलो सुरुङ मार्ग नै हो त ?
सडक विभागका अधिकारीहरु यसलाई सुरुङमार्ग युगको पुनर्जीवन मान्छन् ।

किनभने, आजभन्दा १०२ वर्ष पहिले नै नेपालमा गाडी गुडाउने गरी नै सुरुङमार्ग बनाइएको थियो । मकवानपुरको चुरियामाईमा रहेको यो सुरुङमार्गको भग्नावषेश अझैसम्म देख्न सकिन्छ । यसको संरक्षणमा सरकारको ध्यान गएको छैन ।

राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा सुरुङमार्ग खनियो र गाडी चलाइयो । सुरुङमार्ग खन्ने क्रममा चन्द्रशमसेरको सपनामा देवीले मेरो मार्गमा सुरुङ नखन्न भनेपछि क्षमा स्वरूप मन्दिर स्थापना गरेर सुरूङ खनिएको भन्ने किवंदन्ती छ ।
हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाई मन्दिर छ । त्यहाँको सडक अहिले पनि केही उकालो छ । त्यसैले सडक पीच नगरी कंक्रिटमात्र छ । त्यसकै समीपमा सय वर्षअघिको ऐतिहासिक सुरुङ मार्गको भग्नावशेष देख्न सकिन्छ ।

तत्कालीन समयमा त्यस्तो उकालो पहाडमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङमार्ग खनिएको बताउँछन् स्थानीय जानकार बिके महर्जन । काठमाडौं उपत्यका बाहिर सबैभन्दा पहिले विकास गरिएको यो सडकखण्डमा तत्कालीन राणा सरकारले सुरुङ मार्ग खनाएको थियो । र, त्यही सुरुङ मार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ल्याउँथे ।

काठमाडौंसम्म जोडिने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म समान पुर्‍याइन्थ्यो । काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङ मार्ग छिचोल्दै पुग्थे ।

प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो ।

सडक छेउमा देखिएका सुरुङका मुखहरु थुनिए । तर, मन्दिर नजिकैको सुरुङमार्गको मुख्य भाग भने अझै सग्लो अवस्थामै छ । सडकपारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।

कस्तो छ सुरुङ ?

सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए । यो सुरुङमार्ग ९ फिट चौडा र १० फिट अग्लो छ ।

चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङ मार्गबारे चर्चा गरेका छन् ।

उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ बताएका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।

जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग हाल प्रयोगमा छैन । भूकम्पपछि यो सुरुङमार्ग थप जीर्ण बन्न पुगेको छ । अहिले हेटौंडा उपमहागरले यसको संरक्षणका लागि पहल थालेको छ ।
पहाड नै खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् ।

ऐतिहासिक सुरुङ

पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरिसकेको छ । सुरुङमार्गमा अहिले सर्वसाधारणलाई अवलोकन गर्न निषेध छ । भूकम्पअघिसम्म यसभित्र पसेर हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले अहिले यसलाई बन्द गरेर राखिएको छ ।

मन्दिरका पुजारीका अनुुसार चन्द्रशम्शेरको पालामा बनेको यो सुरुङमार्गको डिजाइन गर्ने इन्जिनियर थापाका पनातिरपनातिनाहरु यसको अवलोकनमा बेलाबखत पुग्छन् । उनीहरुले त्यहाँ थापाको शालिक स्थापना गर्ने योजना बनाएका छन् ।

यसलाई मर्मत गरेर व्यवस्थिथत गर्दै फेरि अवलोकनका लागि खुला गर्ने योजना पटक–पटक बनेको छ । तर, संरक्षणका लागि प्रभावकारी योजना नबन्दा समस्या छ ।

पूर्खाको नासो भएकाले यसलाई राष्ट्रिय सम्पदा घोषणा गर्नुपर्ने माग स्थानीयबासीको छ । सुरुङभित्र सरसफाई गरेर बत्तीसहित तत्कालीन अवस्थामा प्रयोग भएका सामान र चित्र र फोटोहरु सजाएर यसलाई खुला गर्नुपर्ने उनीहरु बताउँछन् ।

चुरे पर्वतको काखमा रहेको यो सुरुङमार्ग नेपालीहरुको श्रम, सीप, मिहिनेत र कला कौशलको प्रतिविम्ब भएको बताउँछन् चुरियामाईका स्थानीय श्यामकुमार बम्जन । गुफामा परिणत भएपछि यो सुरुङमार्ग खासै चर्चामा पनि आउन सकेको छैन । तत्कालीन समयमा यो सुरुङमार्गको पस्ने र निस्कने विन्दुमा पाले घरहरु थिए ।

तत्कालीन पाले वीरबहादुर ब्लोनका नाति रामका अनुसार पालेघरहरुले गाडी अएपछि झण्डा हल्लाएर जनाउ दिने गरेको हजुरबावाट सुनेको बताउँछन् । यो सुरुङमार्ग बनेको करिब सय वर्षपछि बल्ल नेपालले सडकमा सुरुङमार्गको आवश्यकता महसुस गरेको छ ।
अहिले दोलखाको लामाबगर जाने सडकको काभ्रे भीरमा तामाकोशी जलविद्युत् आयोजनाले बनाएको साढे ३ सय मिटरको सुरुङ छ । भीरमा पहिरो गएपछि आयोजनाको मालसामान आपूर्तिमा समस्या परेपछि यो सुरुङ बनाइएको थियो ।

त्यसबाहेक नेपालमा कलंकीमा चीनले जाम नहोस् भनेर बनाइदिएको अन्डर पास पनि अर्को सुरुङ मार्गको प्रयोग भइरहेको नमूना हो । केही हाईड्रोपावर आयोजना क्षेत्रमा छोटा सुरुङ मार्गहरु पनि छन् । नेपालमा लामो सुरुङमार्ग बनेका छैनन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा नागढुंगा सुरुङ मार्ग सुरुङको आधुनिक प्रविधिमा नेपालको प्रस्थानविन्दु भन्छन् ।

‘जापानले अहिलेको जमानामा प्रयोग गरिरहेको प्रविधि यसमाबाट नेपालमा हस्तान्तरण हुन्छ,’ उनी भन्छन्, ‘यो हाम्रो दक्षता अभिवृद्धि गर्ने र अन्य स्थानमा सुरुङमार्ग बनाउने खुबी र क्षमता विकास गर्ने अवसर हो । हामी ढिलै भए पनि अब सुरुङ मार्गको युगमा प्रवेश गरेका हौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*