मकवानपुरगढीको महायज्ञमा पञ्चेबाजा र खैजडीसहित कलश यात्रा

जनपत्र
९ फाल्गुन २०७६, शुक्रबार १०:१३

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–५ सुन्दरधाम सामरीस्थित श्रीकृष्ण प्रणमी मन्दिर निर्माणमा सहयोग जुटाउने उद्देश्यले आजदेखि श्रीमद्तारतमसागर तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु हुँदैछ ।

मकवानपुरगढीको ५,६ र ३ नम्बर वडाको संगम स्थल भागरथी टोलमा आज शुक्रबारदेखि सुरु हुने महायज्ञको लागि सामरी र ज्यामिरे खोलाको मिलन केन्द्र सीमलटारबाट वृहत कलश यात्रा निकालिएको छ । महायज्ञको मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले उद्घाटन गर्दैछन् ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं तथा नेपालकै प्रथम भागवत वाचिका तारा घिमिरेको उपस्थितिमा कलश यात्रा गरिएको छ । महायज्ञमा घिमिरेकै मुखारबिन्दबाट कथा प्रवचन हुनेछ । यात्रामा वडा ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरे लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पञ्चेबाजा र खैजडी भजनसहित कलश यात्रा गरिएको थियो । १५ फागुन सम्म जारी रहने महायज्ञ श्रीकृष्ण प्रणमी सेवा समिति नेपाल, मकवानपुरगढीले ४१ औं वार्षिकोत्सवको अवसरमा भूकम्पले क्षतिग्रस्त मन्दिर निर्माणार्थ सहयोग जुटाउन गर्न लागिएको मन्दिर सञ्चालक समिति अध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनु भयो ।

यसअघि बिहीवार श्रीमद्भागवत सप्ताहको पूर्वसन्ध्यामा प्रचारप्रसार गर्दै मोटरसाइकल र्याली निकालिएको थियो । भागरथीटोलस्थित सुन्दरधामबाट महायज्ञको प्रचारप्रसारको लागि मोटरसाइकल र्याली निकाल्दै मकवानपुरगढीको एक फन्को लगाइएको थियो ।

मन्दिरको निमार्णलाई पूर्णता दिन २ करोड रुपैयाँ लागत अनुमान छ । महायज्ञबाट ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य मन्दिर सञ्चालक समितिको छ । उक्त मन्दिर गाउँपालिकाको प्रमुख धार्मिक पर्यटकीय स्थल हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*