विद्युत् वितरण प्रणाली नयाँ युगमा प्रवेश : विद्युतीय तार भूमिगत गर्न शुरू

जनपत्र
६ फाल्गुन २०७६, मंगलवार ०६:१९

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने कामको औपचारिक रूपमा शुभारम्भ गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महराजगञ्जको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन शुरू गरेको हो ।

सोमबार नेपाल सरकारका प्रधानमन्त्री केपीशर्मा ओलीले महराजगञ्जबाट यसको औपचारिक शुभारम्भ गर्नुभएको छ । योसँगै नेपालको विद्युत् वितरण प्रणाली नयाँ युगमा प्रवेश गरेको छ । प्राधिकरणले विद्यमान विद्युतीय संरचनालाई समयसापेक्ष र आधुनिकीकरण बनाउने शिलशिलामा यो आयोजना अगाडि बढाएको हो ।

पहिलो चरणमा महाराजगञ्ज विद्युत् वितरण केन्द्रअन्तर्गतका बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोंगबुलगायत क्षेत्रमा २५० किलोमीटरमा ११ हजार भोल्टेजको भूमिगत लाइन बिछ्याइने छ । साथै, सोही स्थानका ४०० किमीमा ४०० भोल्टेजको भूमिगत लाइन र २५० किमीमा अप्टिकल फाइबर भूमिगत रूपमा बिछ्याउने प्राधिकरणको योजना छ ।

त्यसैगरी रत्नपार्क केन्द्रअन्तर्गतका न्यूरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल जोरपाटीलगायत स्थानमा पनि तार भूमिगत गरिनेछ । प्राधिकरणका अनुसार ती स्थानमा करीब २०० किलोमीटरमा ११ हजार भोल्टेजको भूमिगत लाइन बिछ्याइनेछ । साथै, ४०० किमीमा ४०० भोल्टेजको भूमिगत लाइन र २०० किमीमा अप्टिकल फाइबर भूमिगत रूपमा बिछ्याइने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले भूमिगत लाइन निर्माणका लागि सन् २०१९ मार्चमा भारतको केईआई इन्डस्ट्री लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । सन् २०२१ अक्टोबरभित्र निर्माण सम्पन्न गर्ने गरी दुई पक्षबीच सम्झौता भएको हो । यस आयोजना निर्माणका लागि कुल ठेक्का सम्झौता रकम करीब ७ अर्ब रुपैयाँ छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण, नेपाल सरकार तथा प्राधिकरणको संयुक्त लगानीमा बिजुलीको तार भूमिगत गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*