श्रीराम सुगर मिल्समा उखु क्रसिङ शुरू

जनपत्र
२ फाल्गुन २०७६, शुक्रबार ०६:४८

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले वुधवारदेखि उखु क्रसिङ शुरू गरेको छ । पुसमा सरकार उखु किसानबीच भएको सहमति अनुसार मिलले किसानलाई झुक्तानी दिने भएपछि क्रसिङ शुरू भएको हो । विगत वर्षहरूमा पुसको पहिलो सातादेखि क्रसिङ शुरू हुने भए पनि यसवर्ष झुक्तानी विवाद हुँदा झन्डै २ महीना ढिला भएको मिलले बताएको छ ।

मिल सञ्चालनमा ढिलाई हुँदा कृषकले आफूले लगाएको उखु खाँडसरी लगायत अन्य चिनी मिललाई विक्री गरीसकेका छन् । यसले मिललाई उखुको अभाव हुने देखिएको छ । करीब २ महीना ढिला गरी मिल सञ्चालन हुँदा यस वर्ष अपेक्षाकृत उखु क्रसिङ नहुने श्री राम सुगर मिलका उखु महाप्रबन्धक पवनकुमार झाले बताए । ‘यस वर्ष करीब २ लाख क्वीन्टल उखु क्रसिङ हुने अनुमान गरिएको छ,’ उनले भने, ‘मिल सञ्चालनमा आएसँगै किसानको रकम पनि चाँडै भुक्तानी हुनेछ ।’ मिलले आर्थिक वर्ष २०७१/७२ र २०७५/७६ को गरी किसानलाई करीब ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको झाले जानकारी दिए । ‘चिनी तथा स्प्रीड विक्रीबाट रू। ७-८ करोड जम्मा हुने र अपुग रकम जमीन विक्री गरेर भुक्तानी दिने प्रक्रियामा मिल रहेको उनले प्रष्ट पारे ।

जिल्लामा रहेको खुट्टी जातको उखु खाँडसरी तथा अन्य चिनी मिलमा विक्री भइसकेका छन् भने फागुनबाट मुरहन जातको उखु तयारी हुन्छ । मुरहन जातको उखु नै श्रीराम सुगर मिलले यस वर्ष क्रसिङ गर्ने उखु उत्पादक संघ रौतहटका सचिव सफीन्द्र यादवले बताए । मिल सञ्चालनमा ढिलाइ हुँदा यस वर्ष किसानले कटहरीयाको बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिजलाई उखु दिएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*