हेटौंडाको थाहासंचारसँगको अन्तरक्रियामा राजधानीको पार्किङ व्यवस्थापनबारे चिन्ता व्यक्त

जनपत्र
१ फाल्गुन २०७६, बिहीबार २१:०६

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको पार्किङ व्यवस्थित नभएकाले शहरको सुन्दरता बिग्रिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। बिहीबार मकवानपुरको हेटौंडामा रेडियो थाहा संचार ९९ दशमलव ६ मेगाहर्जले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन ‘हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’ मा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

विन्दवासिनी मिडिया प्रालिले सञ्चालन गरिरहेको रेडियोको बाह्रौं वर्ष पूरा गरी तेह्रौं वर्ष प्रवेशका अवसरमा मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्र्तक्रियामा हेटौँडाका विभिन्न सडक तथा अन्य स्थानमा आवातजावत हुने सवारी साधनलाई पार्किङ गरिरहेकोले हेटौंडाको सुन्दरतामा आँच पुगेको बताइएको हो। अन्तरक्रियामा वक्ताहरुले बजार क्षेत्रमा पार्किङ गरिएको सवारीलाई बजार क्षेत्रभन्दा पर खुल्ला स्थानमा व्यवस्थापन गर्न सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण पनि गराएका छन्।

हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले हेटौंडा शहरलाई सफा, सुन्दर, फूलैफूलको शहरको रुपमा विकास गर्न आफूहरू योजनाका साथ लागिरहेका बेला व्यवस्थित पार्किङ नहुनु दुःखद भएको बताइन्। ‘हेटौंडा बागमती प्रदेशको राजधानी त भयो तर व्यवस्थित पार्किङ नभएका कारण बजारमा सुन्दरता हराउन थालेको छ’ उनले भनिन्। पछिल्लो समय हेटौँडा तीव्र गतिमा विकास भएकाले उत्तिक्कै चुनौतीहरू पनि रहेको उनले बताइन्।

‘अहिले साँघुरो सडकका कारण व्यवस्थित पार्किङ छैन’ उनले भनिन्। अब हेटौँडा उपमहानगरपालिका सरोकारवालासँग सल्लाह गर्दै व्यवस्थित पार्किङ गर्ने कार्यमा लागि पर्ने उनले बताइन्। यस्तै, जिल्ला ट्राफिक प्रहरी प्रमुख हरि विष्णु ढकालले प्रहरीले मात्रै पार्किङ व्यवस्थापन गर्न नसकिने बताउँदै सर्वसाधारणले पनि विनावर्दीको प्रहरीको भूमिका खेलेमा पार्किङ व्यवस्थापनमा सजिलो हुने बताए। पर्याप्त जनशक्ति तथा स्रोत साधन अभावका कारण सोचेजस्तो काम गर्न नसकेपनि आफूहरुले सकेजति गरेको उनले बताए। विगत पच्चिसरतीस वर्षअघिका लागि निर्माण गरिएको सडक अहिलेको व्यस्त अवस्थामा उपयुक्त नहुने बताउँदै ट्राफिक प्रमुख ढकालले ट्राफिक व्यवस्थापन गर्ने हो र हेटौंडाको विकास गर्ने हो भने सडक फराकिलो पार्नै पर्नेमा जोड दिए।

अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, १० नम्बर वडाका अध्यक्ष किताबसिं लामा, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडा, नारायणी यातायात व्यवसायी संघका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा फर्निचर व्यवसायी संघका केन्द्रिय अध्यक्ष रामप्रसाद न्यौपाने, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण गुप्ता लगायतको सहभागिता रहेको थियो । हेटौंडाको सीमाचोक, बुद्ध चोकमा रहेको म्याजिक स्टेशनलाई अन्य स्थान सार्न सकिएको खण्डमा बजारको सुन्दरता जोगाउन सकिने वक्ताहरुको भनाइ छ ।

अन्तक्र्रियाका अध्यक्ष एवं रेडियो थाहासञ्चारका संचालक अरुणराज सुमार्गीले हेटौंडा बजारलाई व्यवस्थित गर्न सरोकारवालाको प्रतिबद्धता र व्यवहारलाई परिवर्तन गर्न जरुरी रहेकोमा जोड दिए। व्यक्तिमा आडम्बर र देखावटी प्रवृतिले गर्दा बजार व्यवस्थापनमा समस्या रहेको उनले बताए। उनले हेटौँडा प्रदेशको राजधानी भएसंगै सवारी चाप बढेको तर ट्राफिक दरबन्दी नबढ्नुले समस्या पैदा भएको बताए। कार्यक्रममा रेडियोका सञ्चालक अंकिता सुमार्गी, अनिता सुवेदी सुमार्गी, हेटाडाका विभिन्न व्यवसायी, पेशाकर्मी लगायतको उपस्थिती थियो। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार दोश्रो दिन हेटौँडाको बुद्धचोकमा रक्तदान हुनेछ।

रेडियोले स्थापना कालदेखि नै रक्तदान गर्दै आएको छ । त्यसैलाई निरन्तरता दिन बृहत रक्तदान हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए। फागुन ३ गते ‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’ भन्ने नाराका साथ साइकल र्‍याली, ४ गते पत्रकार तथा हेटौंडा भेट्रान्सबीच मैत्रीपूर्ण फुटबल, ५ गते सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, ६ गते रुपचन्द्र विष्ट र उनको व्यक्तित्वबारे अन्र्तक्रिया गर्ने तयारी गरिएको छ। वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन तथा ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेशन म्यानेजर गौतमले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*