बागमती प्रदेश इन्सेकको ध्यानाकर्षणः ‘प्रहरीले कब्जामा लिएर गोलि प्रहार गरियो’
हेटौंडा । प्रहरीले प्राप्त अधिकारको दुरुपयोग गरी कब्जामा लिएर सिन्धुपाल्चोकको जुगल ३ का २८ वर्षिय विष्णु तामाङलाई गोलि प्रहार गरेको भन्दै मानव अधिकारवादी संघ संस्थाहरूले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।
माघ २० गते आयोगको कार्यालय पुल्चोकमा आयुक्त गोबिन्द शर्मा पौडेललाई स्थलगत अनुगमण प्रतिवेदन सहितको ज्ञापनपत्र बुझाउँदै उनिहरूले प्रहरी आवश्यकताभन्दा बढि बल प्रयोग गरेकोले नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरे ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र एड्भोकेशी फोरमले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै अपराधमा संलग्न व्यक्ति नै भएपनि कानुनी दायरामा ल्याई कारबाहि गर्ने बाटो हुँदाहुदै गोलि प्रहार गर्नु व्यक्ति हत्याको क्रमलाई कायम राख्ने खालको नियत देखिएको सो ज्ञापनपत्रमा उल्लेख छ ।
“अनुगमनका क्रममा पीडित, पीडितका आफन्त, प्रत्यक्षदर्शी, सरोकारवाला प्रहरी र घटनाक्रमले प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरी नियन्त्रणमा लिएका व्यक्तिलाई गोली प्रहार गरेको पाइएको हुँदा सो घटनामा प्रहरीको गम्भीर लापरबाही र व्यक्ति हत्याको क्रमलाई कायम राख्ने खालको नियत देखिएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
ज्ञापनपत्रमा भनिएको छ, “आयोगले यस प्रकारका प्रहरीको ज्यादतिको र व्यक्तिको बाँच्न पाउने संविधानले प्रदत्त गरेको अधिकार सुनिश्चितताको लागि सरकारको ध्यानाकर्षण गराओस् भन्ने हाम्रो माग रहेकोले यो ज्ञापन पत्र माननीय ज्यू समक्ष बुझाएका छौँ ।”
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले घटनाको स्थलगत अनुगमणका क्रममापुस २७ गते अन्दाजी साढे ३ बजेको समयमा खाजा खाइरहेको बेला ५ जना सिभिलमा आएका प्रहरीहरूले तामाङलाई गिरफ्तार गरेको र दुई घण्टा भन्दा बढी गोकर्ण तर्फ ट्याक्सीमा लगेर घुमाउँदै ६ बजे तीर काठमाडौँ महानगरपालिका ७, नारायणटारको जबमुडाँडा भन्ने ठाउँमा गोली प्रहार गरेको आरोपितले बताएको जानकारी दिनुभयो ।
उहाँले प्रहरीले दण्डहिनतालाई प्रश्रय दिने गरी फेक इन्काउन्टरको प्रयास समेत गरेको बताउनुभयो । संयोजक गौतमले अनुगमण टोलिले पीडित, पीडितका आफन्त, प्रत्यक्षदर्शी, ट्रमा सेन्टरका चिकित्सक र प्रहरीसंग प्रत्यक्ष रुपमा अलग अलग भेटी घटनाको बारेमा जानकारी लिएर प्रतिवेदन तयार गरिएको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै आयोगका सदस्य शर्माले सो घटनाको छानबिन गरि संलग्नहरूमाथी कारबाही गर्न आयोगले तत्काल प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । सो ज्ञापनपत्र इन्सेक बाग्मती प्रदेश संयोजक गौतम र एड्भो्केशी फोरमका निर्देशक ओम प्रकाश सेनले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा पीडितका परिवारजनको समेत सहभागीता रहेको थियो ।







