स्थलगत कविता तथा गजल प्रतियोगिता

हेटौंडा / झरना साहित्यिक परिवार मकवानपुरको २४८ औँ साहित्य शृंखला अन्तर्गत शुक्रबार स्थलगत कविता तथा गजल लेखन प्रतियोगिताको आयोजना गरिएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्र माविमा आयोजित स्थलगत कविता तथा गजल प्रतियोगितामा ३ वटा विद्यालयका १७ जना विद्यार्थीहरुको सहभागिता रहेको झरना साहित्यिक परिवारका उपाध्यक्ष चिरञ्जीवि लामिछानेले जानकारी दिए ।
महेन्द्र माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकुमार राईको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक दुर्गाप्रसाद पराजुलीको विशिष्ट आतिथ्तमा भएको प्रतियोगितामा महेन्द्र मावि, जनता मावि र प्रभात माविका १७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कवितातर्फका सहभागीहरूलाई ‘वातावरणमा देखा परेका समस्याहरू तथा वातावरण संरक्षणका उपायहरू’ विषय दिइएको थियो ।
कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका सहसचिव गायत्री रुपाखेती, सदस्यहरू मञ्जु दाहाल, अमृता लामिछानेलगायतको उपस्थिति रहेको थियो । प्रतियोतितामा उत्कृष्ट हुनेहरूलाई चन्द्रकुमार राईले प्रायोजन गर्नुभएको पुरस्कार आगामी फागुन १७ गते बकैयामा आयोजना हुने झरनाको २६ औँ वार्षिकोत्सवमा प्रदान गरिने उनले बताए ।