मकवानपुरका सांसद विरोध खतिवडाले गाँजालाई किन वैधानिकता दिन लाग्दैछन् ?

खतिवडाको पक्षमा पूर्व सभामुख, पूर्व गृहन्त्री देखि ४५ सांसद एकै ठाउँमा उभिनुको यस्तो छ रहस्य ।
जनपत्र
१७ माघ २०७६, शुक्रबार ०७:५३

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी भएका सांसद विरोध खतिवडाको क्षेत्र जिल्लाकै अति विकट क्षेत्र हो । क्षेत्र नम्बर २ को कैलास, राक्सीराङ, मनहरी, थाहा नगर लगायतका नगर र गाउँपालिकाका क्षेत्रमा गाँजा खेती हुने गरेको छ । यसको खेती गर्नका लागि सवैजसो भारतिय तस्करहरुले गाँजा र अफिम खेति गर्न किसानका बारी भाडामा लिएर खेति गर्ने गरेका छन् ।

पक्राउ पर्नेमा सधैजसो किसान र भरीया मात्र पर्ने गरेको वताउँदै सांसद खितवडाले भने–‘मकवानपुरको भिमफेदी जेल र प्रहरी कस्टडीमा अधिकांश थुनामा परेकाहरु लागूऔषध कारोवारी छन् । भरीका पनि गाँजा, चरेश, अफिम ओसार पसार गर्ने मात्र छन् । अनी धेरै देशमा औषधिको रुपमा गाँजा खेति गरिन्छ । तर, नेपाल जस्तो गरिव मुलुकमा किन गाँजा खेतिलाई बैधानिकता दिएर खेति नगर्ने भनेर संसदमा प्रस्ताव दर्ता गरिएको हो ।’

गाँजा खेति गर्नका लागि जतिनै नियन्त्रण गर्न खोजेपनि हाल सम्म पनि नियन्त्रण हुन सकेको छैन । मिलेमहतोमा गाँजा लगाउनेलाई छुट, तर, किसानका गाँजा सधै फाड्ने गरिएको छ । वर्षैपिच्छे गाँजा फडानी भएपनि गाँजा लगाउन रोकिएको छैन । अव विकसित देश जस्तैगरी गाँजालाई औषधिको रुपमा प्रयोग गर्नेगरी यसलाई बैधानिकता दिनका लागि प्रस्ताव दर्ता गरिएको सांसद खतिवडाले वताए ।

गाँजालाई वैधानिक बनाउन सत्तारूढ नेकपाका ४६ सांसद एकै ठाउँ उभिएका छन्। उनीहरूले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै गाँजालाई वैधानिकता दिन ढिलो भएको तर्क गरेका हुन्।
नेकपाका सांसद विरोध खतिवडाले सन् १९७० को दशकमा गाँजा र भाङलाई लागु औषधमा समावेश गरेका अमेरिका, क्यानडा, जर्मनीसहित विश्वका ६५ देशले वैधानिकता दिएको उल्लेख गर्दै नेपालमा पनि गाँजा खुलाउन मागसहित प्रस्ताव दर्ता गराएका हुन्।

‘६५ भन्दा बढी देशले सरकारी निगरानी र नियमनमा रहने गरी आफ्ना देशका किसानको आम्दानी वृद्धिका लागि खुल्ला गरिसकेका छन्’ खतिवडाले दर्ता गराएको प्रस्तावमा भनिएको छ, ‘नेपालको भू–भाग प्राकृतिक रुपले नै गाँजा खेतीका लागि अब्बल भएको हुँदा विश्वका अन्य देशहरुले जस्तै किसानको जीवनस्तर उकास्न तथा विदेशी मुद्रा आर्जन समेतका लागि ध्यानमा राखी अहिलेको कानून परिमार्जन गरी सरकारको निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा बैधानिकता दिन ढिला भई रहेकोछ।’

खतिवडाको प्रस्तावमा ४५ सांसदले समर्थन गरेका छन्। गाँजालाई वैधानिकता दिने प्रस्तावमा समर्थन जनाएका नेकपाका सांसद भूमी त्रिपाठी महाभारत क्षेत्रलाई ‘गाँजा जोन’का रुपमा विकसित गराउन सकिने बताउँछन्।

‘गाँजा बहुमुल्य जडिबुटी रहेछ। प्रतिबन्ध गर्ने देशले नै लागू औषध होइन गाँजा त औषधी रहेछ भनेर मान्यता दिइसकेपछि अब हामीले खुल्ला गर्नुपर्छ’ त्रिपाठी भन्छन्, ‘हामीले गाँजालाई सदुपयोग गर्ने नीति लिनुपर्छ।’

त्रिपाठी आफ्नो निर्वाचन क्षेत्र रहेको धादिङलाई गाँजा विशेष क्षेत्रका रुपमा विकास गर्नुपर्ने तर्क गर्छन्। ‘हाम्रोमा गाँजा खेती गर्नुपर्दैन। आफैँ उम्रन्छ। मकैको बोट एक बित्ता उम्रदाँ गाँजा दुई हातको हुन्छ’ त्रिपाठी भन्छन्, ‘हामीले गाँजा फाँड्ने, आगो लगाउने गर्दै आएका छौँ। अब यसलाई औषधिका रुपमा प्रयोग गर्ने नीति लिनुपर्छ।’

तर गाँजा खेती सरकारको निगरानीमा हुनुपर्ने उनको मत छ। ‘राज्यको नियमन र नियन्त्रणमा खेती गर्नुपर्छ’, त्रिपाठी भन्छन्, ‘गाँजा खेती वैधानिक गर्दा खान नपुग्ने कतिपय परिवारमा आर्थिक समृद्धि आउँछ।’

नेकपाकै अर्की सांसद दिलकुमारी क्यान्सर हुन्छ भन्ने जान्दा जान्दै सरकारले सूर्ती उत्पादनमा लाइसेन्स दिने गरेकाले औषधि हुने गाँजा खेतीलाई पनि लाइसेन्स दिएर खुला गर्नुपर्ने बताउँछिन्।
‘गाँजा औषधि रहेछ’ दिलकुमारी भन्छिन्, ‘यसलाई सिधै खुलाउनुपर्छ भन्ने मत हाम्रो होइन। कानुन बनाएर खेतीका लागि अनुमति दिलाउनुपर्छ।’ नेपालले आवश्यक उत्पदान गर्नुपर्ने र बढी भए निर्यात गर्नुपर्ने उनको तर्क छ।

नेकपाकै अर्की सांसद शान्तिमाया पाख्रिन पनि गाँजाको उत्पादन राम्रो हुने भएकाले नीति बनाएर वैधानिकता दिनुपर्ने बताउँछिन्। ‘कतिपय एक दुई बोट गाँजा हुने किसान समातिएका छन्’ शान्तिमाया भन्छिन्, ‘कसैले गाँजाको तस्करी गरिरहेका छन्। हामीले यसलाई वैधानिकता दिएर निमुखा किसानलाई राहत दिनुपर्ने मत राखेका हौं।’

नेपालमा गाँजा

नेपालमा गाँजा उत्पादन र बिक्री इतिहास लामो छ। तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो।

दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे।

यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात–निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो।

गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्यो। राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो।

त्यसबेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तो कडा लागुऔषधको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना गर्यो। एसिया र पश्चिमी देशमा अझै प्रतिबन्धित नभएको गाँजा तुरून्तै प्रतिबन्ध लगाउन उसले दबाब दियो।

खासगरी हिप्पी कालमा काठमाडौं छिरेका कतिपय अमेरिकी ‘लागुऔषध सेवन गर्न’ यतै बस्न थालेपछि अमेरिका चिन्तित थियो। र, उसकै दबाबले नेपालमा प्रतिबन्ध लाग्यो। गाँजाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ।

उतिबेला बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गाँजा सेवन गर्ने चलन थियो। भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो।

नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ। नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल ९भाङ० खाने चलन छ। आयुर्वेदको अन्तिम वर्षका विद्यार्थी प्रशान्त बस्नेतका अनुसार गाँजा भनेको स्त्रीलिंगी बिरुवा हो भने भाङ पुलिंगी। ‘यी दुईबीच परागसेचन भएर वंश अघि बढ्ने हो,’ उनले भने।

यति मात्र होइन, हिन्दु धर्मका भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको धर्मशास्त्रमा छ। अर्को व्याख्याअनुसार त्यही अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको हो।

गाँजा उत्पत्तिका विभिन्न व्याख्या भए पनि यसलाई हिन्दुहरूले शिवको प्रसाद मानेर सेवन गर्ने चलन छ। धर्मशास्त्रले गाँजा पाप पखाल्न र शिव भगवानसँग निकट हुन सेवन गरिने भनेको छ। विशेष चाडपर्वबाहेक जहिले पायो, त्यैले सेवन गर्नु पाप हो भनेर पनि व्याख्या गरिएको छ। नेपालमा गाँजा प्रतिबन्धित भए पनि अचार निम्ति दाना बेचबिखन बन्देज छैन।

गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ। नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*