हेटोंडामा कृषि मेला प्रदर्शनी हुने

जनपत्र
१७ माघ २०७६, शुक्रबार ०७:१९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी फाल्गुण २ गते हेटौंडा स्थित् पल्पसा सभाहलमा वृहत् कृषि मेला गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका कृषकहरुको कृषि उपजलाई विभिन्न ६ वटा विधाहरुमा वर्गीकरण गरि प्रदर्शनमा भाग लिने कृषकहरुको कृषि उत्पादनको मूल्यांकनको आधारमा पुरष्कृत गरिने छ ।

कृषि मेला प्रदर्शनीमा भाग लिने कृषकहरुले आफ्नो कृषि उपजलाई मेला हुने १ दिन अगावै प्रदर्शनी स्थलमा लगी दर्ता गरिसक्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ । यसका साथै उक्त कार्यक्रममा उत्कृष्ट कृषक पुरष्कार समेत वितरण गर्ने कार्यक्रम रहेको छ । उपमहानगरपालिकाको चालू आर्थिक वर्ष २०७६।७७ को स्वीकृत वार्षिक बजेट बमोजिम उपमहानगर क्षेत्र भित्रका व्यावसायिक कृषकहरु (पशुपालक कृषक र कृषि) मध्येबाट १।१ जनाका दरले २ जनालाई उत्कृष्ट कृषकको रुपमा पुरष्कृत गरिने भएको छ ।

उत्कृष्ट कृषक छनौटका लागि उपमहानगरपालिकाले स्वमूल्यांकन सहित निवेदन पेश गर्नको लागि ७ दिनको म्याद दिएर सूचना समेत प्रकाशन गरेको छ । वृहत् कृषि मेला प्रदर्शनी कार्यक्रममा नगरका सम्पूर्ण कृषिप्रेमीहरुमा अवलोकनमा सहभागी भई कार्यक्रमको भव्य रुपमा सम्पन्न गर्न सबैमा अनुरोध गरिएको छ । उत्कृष्ट कृषक प्रोत्साहन र वृहत् कृषि मेला प्रदर्शनीबाट समेत पुरष्कृत हुने कृषकहरुबाट अन्य कृषकहरु र कृषि पेशा अपनाउन चाहने नगरवासीहरुमा समेत थप उत्प्रेरणा मिल्ने र निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषिमा परिणत हुने विश्वास रहेको उपमहानगरपालिकाका नगर प्रमुख  हरि बहादुर महतले बताउनुभयो ।

उपमहानगरपालिकाले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको र आगामी वर्ष अझ विशेष जोड दिइने उपमहानगरपालिकाका उप प्रमुख मिना कुमारी लामाले बताउनुभयो । उपमहानगरपालिकाले यस वर्ष विभिन्न खाद्य बालीका मिनी किट वितरण, तरकारीका मिनी किट वितरण, माटो शिविर संचालन गरिसकेको छ भने कृषि यान्त्रिकीकरणका सामाग्री वितरण, साना सिंचाई लगायत अनुदान वितरण यसै महिनामा गरिसक्ने योजना रहेको छ । पशुपंक्षी सेवा तर्फ निःशुल्क कृत्रिम गर्भाधान सेवा,पशु बिमामा ५० प्रतिशत अनुदान कार्यक्रम सुरुवात भइसकेको छ भने गोठसुधार, भकारो सुधार, भर्मी कम्पोष्ट, पशुपंक्षी पालन अनुदान वितरण कार्यक्रम तत्कालै गरिने कृषि तथा पशुपंक्षी शाखाका शाखा प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*