पहिचान नमासिने गरी संस्कारमा परिवर्तन गरौँ : उर्जामन्त्री पुन

जनपत्र
५ माघ २०७६, आईतवार ०७:२५

नेपाल सरकारका जलस्रोत तथा ऊर्जामन्त्री वर्षमान पुनले अब नयाँ पुस्ताले पुर्खाको पहिचान नमासिने गरी संस्कारमा परिमार्जन ल्याउनुपर्ने बताएका छन् । मगर भाषा साहित्य प्रतिष्ठान दाङले शनिबार घोराहीमा आयोजना गरेको मगर वेषभूषा प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै उनले इतिहासमा रहेका केही विकृतिलाई मासेर पहिचान नमेटिने गरी पुर्खाले मान्दै आएको संस्कारलाई आधुनिक तरिकाले अगाडि बढाउन पनि सकिने बताए ।

नेपालमा बस्ने सबै जातजातिमा रहेको कला, संस्कृति, चाडपर्वलाई अन्य जातिले पनि एकापसमा अपनत्व लिनुपर्ने बताए । सबै जातिभित्र रहेको संस्कार भनेको समग्र देशको पहिचान भएको हुँदा सबै जातिले त्यसलाई सम्मान गरी अध्ययन, अनुसन्धान गर्न आग्रह गरे ।

सरकारले विद्युतीकरणको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको जानकारी दिँदै उर्जामन्त्री पुनले पहिलो चरणमा मुलकका ४० जिल्लालाई विद्युतीकरण गर्ने कार्य अगाडि बढाएको बताए । “नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने सरकारको तयारी छ । हामीले पहिलो चरणमा यसै वर्ष दाङसहित मुलकका ४० जिल्लालाई विद्युतीकरण गर्ने कार्य अगाडि बढाएका छौँ”, उर्जामन्त्री पुनले भने, ‘‘ उक्त तयारीमा सरकार लागि परेको छ ।”
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*