जिब्रोको फ्याटका कारण निद्रामा समस्या

जनपत्र
२ माघ २०७६, बिहीबार ०८:०९

निदाइरहेका बेला स्वासप्रस्वासमा समस्या हुनु हाम्रो जिब्रोमा हुने फ्याटसँग सम्बन्धित रहेको एक अध्ययनले देखाएको छ ।यस समस्यालाई ‘स्लिप एपनिया’ पनि भनिन्छ जसका बिरामीमाथि गरिएको परीक्षणपछि यस्तो निष्कर्ष निकालिएको हो ।अध्ययनकर्ताहरुका अनुसार एपनियाका बिरामीले तौल घटाएमा तिनको जिब्रोको फ्याट पनि कम हुन्छ जसले नै उनीहरुमा सुधार ल्याउने गरेको पत्ता लागेको छ ।

प्रायः मोटा मानिसहरुमा ठूलो र मोटो जिब्रो हुन्छ । तर शरीरको आकार ठीक अवस्थामा भएपनि जिब्रोमा फ्याट हुनुले अन्यलाई पनि जोखिममा पार्न सक्ने पेनिसिल्भेनिया स्थित उक्त अध्ययन टोलीले बताएको छ । यसबीच वैज्ञानिकहरु अहिले जिब्रोको फ्याट घटाउन कस्तो डायट उपयुक्त हुनेछ भन्ने पत्ता लगाउन काम गरिरहेका छन् ।

फिलाडेल्फियास्थित पेरेलमन स्कुल अफ मेडिसिनका डाक्टर रिचर्ड स्क्वाब भन्छन्, “हामी बोल्ने, खाने, सास फेर्ने सबै जिब्रो मार्फत गर्छौँ तरपनि किन र कसरी जिब्रोमा फ्याट जमेर बस्छ भन्ने धेरैको प्रश्न छ । वास्तवमा यसको स्पष्ट जवाफ विज्ञहरुसँग पनि छैन । यो वंशाणुगत वा वातावरणीय कारणले हुने सक्ने हाम्रो अनुमान छ । तर जिब्रोमा जति थोरै फ्याट त्यति नै निद्राको समस्या हुने सम्भावना पनि कम हुन्छ । ”

‘स्लिप एपनिया’ कै कारण मानिसलाई ठूलो स्वरमा घूर्ने, नाकले सास फेर्ने र निदाइरहँदा शरीर चलाउने लगायतका समस्या हुन्छ । यसका साथै दिउँसोको समयमा पनि यसले ज्यान अल्छि बनाउने र निद्रा लागिरहने गराउँछ जसकारण जीवन स्तर नराम्ररी प्रभावित गर्न सक्ने बताइन्छ । यसमा सबैभन्दा सामान्य प्रकार अब्सट्रक्टिभ स्लिप एपनिया हो जसले निदाइरहेकाबेला मान्छेको सास फर्ने माथिल्लो वायुमार्ग पूर्ण रुपमा वा आधा बन्द गराइदिन्छ । युनिभर्सिटी अफ पेनिसिल्भेनियाका अनुसन्धानकर्ताहरुले सो समस्या भएका ६७ बिरामीको स्क्यान गरेका थिए जसमा कोही मोटोपना भएकाहरुले १० प्रतिशत तौल घटाएका हुन् । त्यस लगत्तै उनीहरुमा यसको लक्षणमा पनि ३० प्रतिशत सुधार आएको थियो । यसबीच बिरामीको माथिल्लो वायुमार्गको संरचनाको जाँच गरेर वैज्ञानिकहरुले तिनको अवस्थामा सुधार आउनु पछाडिको कारण जिब्रो रहेको पत्ता लगाएका हुन् । सो अध्ययन ‘अमेरिकन जर्नल अफ रेस्पिरेटरी एण्ड क्रिटिकल केयर मेडिसिन’ मा प्रकाशित गरिएको छ । बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*