विद्युतीय गाडी एसेम्बल गर्न सुन्दर यातायात र बीएकेबीच सम्झौता

जनपत्र
२२ पुष २०७६, मंगलवार ०६:४६

नेपालमै विद्युतीय गाडी उत्पादनका लागि एसेम्ब्ली प्लान्ट स्थापना गर्न सुन्दर यातायात र चिनियाँ सिचुवाङ गुहाङ अटोमोबाइल, बीएकेबीच सम्झौता भएको छ । बीएकेका उत्पादनको नेपालका लागि आधिकारिक विक्रेता सुन्दर र कम्पनीबीच आगामी ६ महीनामा प्लान्ट स्थापना गरी १ वर्षभित्रै विद्युतीय गाडी उत्पादन शुरू गर्ने सहमति भएको हो ।

सम्झौताअनुसार सुन्दरले जग्गा, विद्युत् प्रसारण लाइनलगायतका लागि लगानी गर्नेछ भने एसेम्ब्ली प्लान्टको स्थापनाका लागि चिनियाँ कम्पनीले लगानी गर्नेछ । नेपालमै विद्युतीय गाडी एसेम्ब्ली प्लान्ट स्थापना गर्न गरिएको यो पहिलो सम्झौता हो । यद्यपि विद्युतीय मोटरसाइकल ९स्कूटर० उत्पादन गर्ने दुई एसेम्ब्ली प्लान्ट हाल नेपालमा छन्, जसमा चिनियाँ लगानी छ ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार रूपन्देहीको मोतीपुरमा १२ बिगाहा क्षेत्रफलमा प्लान्ट स्थापना गरिनेछ । सो स्थानमा प्लान्ट स्थापना गर्न जग्गा लीजमा लिने काम लगभग सकिएको थापाले बताए । नेपालमा एसेम्ब्ली प्लान्ट स्थापनाको सम्भावनाको अध्ययन गर्न बीएके कम्पनीको एक टोली मंसिरको दोस्रो साता नेपाल आएको थियो । अध्ययनपछि सो टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र अर्थ मन्त्रालयसँग छलफल गरेको थियो । ‘बीएकेसँग एसेम्ब्ली प्लान्ट स्थापनाका लागि लिखित सम्झौता भइसकेकाले अब कानूनी प्रक्रियाको काम अघि बढ्छ,’ थापाले भने ।
बीएकेको नेपालमा विद्युतीय सवारी एसेम्बल गरी दक्षिण एशियाका अन्य देशमा निर्यात गर्ने योजना रहेको थापाले बताए । कुल १ अर्ब रुपैयाँको लगानीमा स्थापना हुने प्लान्टबाट विद्युतीय बस तथा कार उत्पादन गरिनेछ । थापाका अनुसार वार्षिक १ हजार गाडी उत्पादन गर्ने लक्ष्य कम्पनीको रहे पनि शुरूका वर्षमा ५० ओटा मात्र गाडी एसेम्बल गरिनेछ ।

सुन्दरले २०१८ अगस्ट ४ मा नेपालमा बीएकेका विद्युतीय बस सञ्चालन गर्नेगरी नेपालको आधिकारिक विक्रेताका रूपमा कम्पनीसँग सम्झौता गरेको थियो । सुन्दरले हाल काठमाडौंको चक्रपथमा चारओटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । हालै लगानी बोर्डले नेपालमा गाडी एसेम्ब्ली प्लान्ट स्थापना गर्न दक्षिण कोरियाली कम्पनी मोट्रेक्सलाई प्रारम्भिक अनुमति दिएको छ ।असभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*