जापानले माग्यो दुई हजार ३०० केयरगिभर

जनपत्र
२१ पुष २०७६, सोमबार ०६:५८

वैदेशिक रोजगारका लागि आकर्षण गन्तव्य मानिएको जापानामा दोस्रो चरणमा नर्सिङ केयरगिभरका लागि आवेदन माग गरिएको छ। जापानले नेपालबाट नर्सिङ केयरगिभरमा योग्यता पुगेकाका लागि जापानी भाषा परीक्षा सञ्चालन गर्नका लागि मिति सार्वजनिक गरिसकेको छ।

नेपालबाट जापानमा केयरगिभर लैजान जनवरी र मार्चमा गरी दुई सिफ्टमा भाषा परीक्षण सञ्चालन गर्ने गरी मिति सार्वजनिक गरिएको हो। भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउन्डेसनले यो जनवरी र मार्चमा गरी दुई हजार ३०० जनाका लागि भाषा परीक्षा सञ्चालन गर्ने छ। फाउन्डेसनका अनुसार जनवरीमा आवेदन दिएकामध्येबाट एक हजार र मार्चमा आवेदन आएकामध्येबाट एक हजार ३०० जनालाई चिठ्ठाको माध्यमबाट छनोट गरी दुई सिफ्टमा भाषा परीक्षा गरिने खबर गोरखापत्र दैनिकमा छ। फाउन्डेसनले केयरगिभरमा जाने इच्छुकसँग आवेदन माग गरेको छ।
भाषा परीक्षा जनवरीको ७ र ८, १४ र १६, २१ र २३, २८ र २९ तारिखका लागि तोकिएको छ। यस्तै मार्चमा भने ३, ५, ९ र ११, १२, १५ र १९ तारिखमा पनि परीक्षा सञ्चालन गरिने छ। परीक्षाका लागि आवेदन शुल्क दुई हजार पाँच सय तोकिएको छ। परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण ९सीबीटी० टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ। यस्तै परीक्षाको विषयमा शब्दार्थ र लेखन शैली, कन्भेक्सनल र एक्स्प्रेसन तथा रिडिङ एन्ड लिस्निङ कम्प्रिहेन्सनलाई राखिएको फाउन्डेसनले जनाएको छ। जम्मा २५० पूर्णाङ्कको यस परीक्षामा २०० अङ्क ल्याए परीक्षार्थी उत्तीर्ण हुन सक्ने छन्। आवेदकको योग्यता आवेदन दिनका लागि नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० आवश्यक पर्ने र जापानी भाषामा ए टू तह उत्तीर्ण भएको हुनुपर्ने छ।
यस्तै बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्ने छ। यसअघि पहिलो चरणमा अक्टोबरमा भाषा परीक्षा लिइएको थियो, जसमा १३ हजार जनाले आवेदन दिएका थिए। तीमध्ये फाउन्डेसनले गोला प्रथाबाट छनोट गरेका एक हजार जनालाई मात्र भाषा र सीप परीक्षामा समावेश गरेको थियो तर त्यतिबेला लिइएको पहिलो चरणको परीक्षामा सबै असफल भएका थिए। कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ। पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिक जापान लैजाने नीति लिइएको छ। दुई देशबीच भएको समझदारीअनुसार भाषा र सीप दुवैमा उत्तीर्ण भएपछि मात्र जापान जान सकिन्छ तर सीप परीक्षामा पहिलो चरणमा सहभागी भएकामध्ये एक जना पनि उत्तीण नभएपछि जापान जाने प्रक्रियामाथि नै प्रश्नचिह्न खडा भएको छ।
आवेदन गरेकामध्ये गोला प्रथाबाट छान्नु उपयुक्त नभएको भन्दै आलोचना भएको छ। यस सन्दर्भमा श्रम मन्त्रालयले छनोट प्रणालीप्रति असहमति जनाइसकेको छ। ‘लक्की ड्र’ बाट श्रमिक छान्दा योग्य आवेदक नपर्न सक्ने भन्दै लक्की ड्र प्रणालीमा सुधार्नुपर्ने सुझाव मन्त्रालयको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*