१२ घण्टे सरुवा पत्र पनि लत्याएका एसपी मल्ल भन्छन्- एक घन्टाभित्रै भनेर आए पनि जिल्ला छाड्दिनँ

प्रदेश प्रहरी कार्यालय हेटौडाको १२ घन्टे पत्रको बेवास्ता गर्दै चितवनमा कार्यरत् प्रहरी उपरीक्षक दानबहादुर मल्लले जिल्ला छोड्न इन्कार गरेका छन्। जिल्लाबाट सरुवा भएको झन्डै दुई हप्तासम्म जिल्ला नछोडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले मल्लका नाममा बुधबार राति ११ बजे जिल्ला छोड्न १२ घन्टे निर्देशन दिएको थियो। सो निर्देशन पनि नमानिकन मल्ल चितवन जिल्ला प्रहरीमै बसेका हुन्।३ नम्बर प्रदेश प्रहरी कार्यालयले एसपी मल्ललाई १२ घन्टाभित्र जिल्ला बुधबार छोड्न निर्देशन दिएको थियो । कार्यालयले पत्र नै लेखेर मल्ललाई जिल्लामा प्रनाउलाई बुझबुझारत गरी जिल्ला छोड्न निर्देशन दिएको थियो ।
मल्ललाई प्रदेश प्रहरी कार्यालयले दिएको निर्देशन बिहीबार १२ बजे सकिएको छ। तैपनि मल्ल चितवन जिल्ला प्रहरीमै छन्। उनले सरूवा कार्यान्वयनको चिठी ‘रवाना’ बुझेका छैनन्।चितवन प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्लले आफूले तत्काल जिल्ला नछाड्ने बताएका छन् । उनले आफूलाई एक घन्टाभित्रै जिल्ला छाड्न निर्देशन आए पनि नछाड्ने प्रहरी प्रधान कार्यालयलाई नै चुनौती दिएका छन् ।
गत पुस ४ गते प्रहरी प्रधान कार्यालयले मल्लसहित २४ एसपीको सरूवा गरेको थियो । मल्ल चितवन सरुवा भएको १० महिना बितिसकेको छ । यस अवधिमा उनी जिल्लामा निकै विवादमा आएका छन् । प्रहरी प्रधान कार्यालयले चितवनमा एसपी गंगा पन्तलाई पठाएको छ । तर, मल्ल रमाना नभइदिँदा पन्त प्रहरी प्रधान कार्यालयमा अड्केर बसेकी छन् । मल्लले विभागीय प्रक्रियाअन्तर्गत प्रदेश प्रहरी कार्यालयको तर्फबाट पत्र आएकाले त्यसलाई आधार मानेर तत्काल जिल्ला नछाड्ने चुनौती दिएका छन् । ‘एक घन्टा भनेर पत्र आएपनि चितवन छोड्दिनँ । पत्र नियमित प्रक्रिया हो,’ मल्लको भनाइ छ ।