निर्माण अवधिभन्दा अघि नै पुल सञ्चालन

जनपत्र
१७ पुष २०७६, बिहीबार ०६:२०

ठेकेदारको लापरबाहीले विकास निर्माणका काम अलपत्र पर्ने क्रम बढिरहँदा दाङमा भने निर्माण कम्पनीले सम्झौताभन्दा अघि नै पुल निर्माण सम्पन्न गरेको छ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत ग्वारखोलामा निर्माण भएको पक्की पुल कालिका रसुवा जेवीअन्तर्गतको रसुवा कन्ट्रक्शन प्रालिले सम्झौता मितिभन्दा करीब ७ महीना अगाडि सम्पन्न गरेको छ ।

रसुवा कन्ट्रक्शनले २०७४ असार ११ गते ३ वर्षमा पुल निमार्ण गर्ने सम्झौता गरी सोही वर्षको माघदेखि निर्माण शुरू गरेको थियो । कन्ट्रक्शनले रू। २८ करोड ३७ लाख ७३ हजार लागत २०७७ असारसम्ममा निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । कम्पनीले सम्झौता गरेको अढाइ तथा निर्माण शुरू गरेको २ वर्षमा काम सम्पन्न गरी सञ्चालनमा ल्याइएको रसुवा कन्ट्रक्शन प्रालिका प्रतिनिधि सिनेटमान श्रेष्ठले बताए । ‘हामीले निर्माणको काम सम्पन्न गर्ने भनेर पाएको सम्झौता समयभन्दा करीब ७ महीनाअघि नै काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘पुसको पहिलो सातादेखि पुल सञ्चालनमा आइसकेको छ ।’

२२० मीटर लामो १० मीटर चौडाइ भएको उक्त पुल सो सडकखण्डको सबैभन्दा लामो पुल हो । दक्ष जनशक्ति परिचालन गरी समयमै सम्झौता भएको गुणस्तरमा पुल निर्माण भएको निर्माण कम्पनीले बताएको छ । सम्झौता अनुसार कम्पनीले पुल निर्माण गरेको र अब यसको संरक्षण सबैको दायित्व रहेको श्रेष्ठले बताए । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*