यी हुन मकवानपुरको भ्रमण वर्षलाई लक्षित गर्दै पहिचान गरिएका ३० गन्तव्य

जनपत्र
१६ पुष २०७६, बुधबार ०६:५०

नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै मकवानपुरमा ३० ओटा पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । जिल्लाका १० ओटै स्थानीय तहले आफ्नो क्षेत्रका ३/३ पर्यटकीय स्थल पहिचान गरी सिफारिशका लागि प्रदेश सरकार समक्ष पठाएको जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालले जानकारी दिए ।

‘प्रदेश सरकारले माग गरेबमोजिम पर्यटकीय गन्तव्य छनोट गरेर पठाएका छौं,’ उनले भने, ‘छनोट भएका गन्तव्य स्थलको प्रचारप्रसार तथा आवश्यक संरचना निर्माणका लागि स्थानीय तहले विस्तृत परियोजना काम गर्नेछन् ।’

हेटौंडा उपमहानगर–पालिकाले शहीद स्मारक, चुरियास्थित नेपालकै पहिलो सुरुङमार्ग र गुम्बाडाँडामा रहेको मूर्ति बगैंचालाई पर्यटकीय गन्तव्यका रूपमा छनोट गरेको छ । थाहानगर नगरपालिकाले दामन, सीमभञ्ज्याङ, चित्लाङ र राष्ट्रिय विभूति पार्कलाई पर्यटकीय गन्तव्यमा छनोट गरेको छ । कोटथुम्की, पाण्डुकेश्वर, ऋषेश्वर, मैत्रीबगैंचा, कुटकुटेश्वर, टिस्टुङको नर्बे ढुंगा, आग्राको डाँडेबास, बज्रबाराही, चन्द्रागिरि लगायत पर्यटकीय गन्तव्य थाहानगरमै रहे पनि तीनओटा मात्रै सिफारिश गर्न भनिएकाले यी गन्तव्य सिफारिश हुन नसकेको नगर प्रमुख लवशेर विष्टले बताए ।

मनहरी गाउँपालिकाले पिस पार्क, रमौली जंगल सफारी र बनकरिया होमस्टेलाई पर्यटकीय गन्तव्यमा छनोट गरेको छ । रू। १२ करोडको पर्यटन गुरुयोजना बनाएर गाउँपालिकाले काम गरिरहेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिकाले ऐतिहासिक महत्त्व बोकेको मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र शहीद रुद्रवाटिका पार्कलाई छनोट गरेको छ । यस्तै, भीमफेदी गाउँपालिकाले ऐतिहासिक चिसापानीगढी, हात्तीसार ९बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले चढेको हौदा संग्रहालय० र त्रिखण्डी मन्दिर क्षेत्रलाई सिफारिश गरेको छ । मकवानपुर जिल्लाको पुरानो सदरमुकाम पनि रहेको भीमफेदी आफैमा ऐतिहासिक स्थल हो ।

भ्रमण वर्षलाई लक्षित गर्दै राक्सिराङ गाउँपालिकाले पाइराङ भीम्बुङ, जलपरी झरना, चमेरे गुफा र चैनपुरस्थित चेपाङ संग्रहालयलाई पर्यटकीय गन्तव्य छनोट गरेको अध्यक्ष राजकुमार मल्लले बताए । इन्द्रसरोवर गाउँपालिकाले इन्द्रसरोवर ताल, भालेश्वर मन्दिर र मदन भण्डारी फाखेल मैत्रीपार्क चौकोटदेवी मन्दिरलाई गन्तव्यमा समावेश गर्न सिफारिश गरेको छ ।

कैलाश गाउँपालिकाले कैलाशवैकुण्ठ, देखारी र घैराङ पर्यटक पार्कलाई पर्यटकीय गन्तव्यमा छनोट गरेको छ भने बकैया गाउँपालिकाले गौतमबुद्ध पर्यटन पार्क, धानेश्वर पार्क र बकैयाठाकुर पर्यटन पार्कलाई सिफारिश गरेको छ । यस्तै बागमती गाउँपालिकाले झुरझुरेस्थित शहीद स्मारक पार्क, गोल्मेदरबार क्षेत्र र बेतिनीस्थित वनभोज स्थललाई पर्यटकीय गन्तव्य छनोट गरेको छ । भानुभक्त आचार्यले अभियानडेलीको लागि लेख्नु भएको समाचार हामीले साभार गरेका छौ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*