मौरीबाटै विष उत्पादन!
मौरीपालन मह उत्पादनका लागि गरिन्छ। तर, विष समेत मौरीबाट लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ। भरतपुर-१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वी–भेनम’ उत्पादन गर्ने काम सुरु गरेको खबर आजको कारोबार दैनिकमा विप्लव काफ्लेले लेखेका छन्।
‘मौरीको संरक्षण गर्ने हतियार खिल अर्थात वी भेनम संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा।खेमराज न्यौपानेले भने, ‘खिल खाद्य बस्तु होइन, तर कैयन रोगको उपचार गर्ने औषधि बनाउन उपयोग हुन्छ।’ उनका अनुसार १० हजार मौरीबाट एक ग्राम भी भेनम संकलन गर्न सकिन्छ।
एक ग्राम संकलन गर्न तीन दिन लाग्छ। वी भेनमको मूल्य २५ देखि ३० लाख पर्छ। शत्रुलाई आक्रमण गरेर टोक्ने क्रममा मौरीले खिल निकाल्छ। नेपालमा हालसम्म वी भेनमको व्यवसायिक उत्पादन सुरु भएको छैन।







